भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा देव गुरुङ

Read Time:3 Minute, 57 Second

पोखराका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट

रूद्र श्रीसमगर
पोखरा, २२ वैशाख
नेकपा–माओवादीका सचिव देव गुरुङले गत वैशाख १२ गते शनिबार आएको विनाशकारी महाभूकम्पको केन्द्रविन्दु गोरखाको स्थलगत भ्रमण गरेका छन । गोरखाका बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, भच्चेकलगायत भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी मंगलबार पोखरा आउनुभएका गुरुङले पोखराका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूसँग समेत प्रत्यक्ष भेटवार्ता गरेका थिए ।


पोखरा–९, लखनचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरूसँगको भेटका क्रममा पूर्व मन्त्री समेत रहनुभएका गुरुङले घाइतेहरूलाई नआत्तिन आग्रह गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । सो क्रममा नेता गुरुङसँग घाइतेहरूले तत्काल राहतको व्यवस्था मिलाइदिन र पुनर्बासको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।अस्पतालमा उपचाररत घाइतेहरूसँगको भेटपछि अस्पतालबाट उपचारपछि डिस्चार्ज भइ तमु धिं नेपालद्वारा व्यवस्थापन गरिएको राहत तथा पुनस्र्थापना शिविरमा रहेका घाइतेहरूसँग भेटेर नेता गुरुङले प्रत्यक्ष कुराकानी गरेका थिए । सो अवसरमा बोल्दै नेता गुरुङले महाविपत्तिको घडीमा सम्पूर्ण राष्ट्र नै एकजुट भएर विपत्तिको सामना गर्नुपर्ने बताए । सबै राजनीतिक दल, संघसंस्था, नागरिक एकढिक्का भएर विपत्तिको सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै नेता गुरुङले राज्यका तर्फबाट उद्दार तथा राहत कार्यमा कुनै भेदभाव नहुने बरु त्यस्तो भएको खण्डमा खबरदारी गर्न आग्रह समेत गरे ।

तमु धिं नेपालका अध्यक्ष कर्म गुरुङले पूर्व मन्त्रीजस्तो राष्ट्रियस्तरको नेताको आगमनले आफूहरू अति उत्साहित भएको बताउँदै भूकम्पबाट घाइते भएकाहरूको घाउमा मल्हम लगाउन तमु धिं नेपाल सधैं तयार रहेको उल्लेख गरे । तमु धिं नेपालमा भएको कार्यक्रमको सञ्चालन तमु धिं नेपालका सहकोषाध्यक्ष सरस्वती गुरुङले गर्नुभएको थियो भने नेता गुरुङसहित नेकपा–माओवादीका स्थायी समिति सदस्य वसन्त, तमुवान राज्य इञ्चार्ज श्यामलगायतका नेताहरू समेत आएका थिए ।
यसैबीच, नेकपा–माओवादी तमुवान राज्य संयोजन समितिको बैठक समेत मंगलबार नै सम्पन्न भएको छ ।पार्टी सचिव देव गुरुङको प्रमुख आतिथ्यतामा भएको बैठकले भूकम्पको केन्द्रविन्दु तमुवान रहेकोले भूकम्पपीडितहरूको उद्दार तथा राहत कार्यमा सम्पूर्ण पार्टी पंक्ति सक्रियताका साथ जुट्ने निर्णय गरेको छ ।बैठकमा पार्टी सचिव गुरुङसहित स्थायी समिति सदस्य वसन्त, मगरात राज्य इञ्चार्ज सुरेश आलेमगर, तमुवान राज्य इञ्चार्ज श्याम, सह–इञ्चार्ज प्रभा, केन्द्रीय सदस्यद्वय धर्म र सागरलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %