लक्की चौधरी
काठमाडौँ, वैशाख १५ गते । गत शनिबारदेखि शुरु भएको शक्तिशाली भूकम्पको धक्कामा क्रमशः कमी हुँदै गएपछि उपत्यकावासी आ–आफ्ना घरमा सुत्नसक्ने अवस्था बनेको भूकम्प विज्ञहरूको सुझाव छ ।
शक्तिशाली भूकम्पको धक्कापछि त्यसको पराकम्प (आफ्टरशक)को क्षमता क्रमशः घट्दै गएपछि घरबाहिर त्रिपालमुनि बसोबास गरिरहेका उपत्यकावासीलाई विज्ञहरूले त्यस्तो सुझाव दिनुभएको हो । पराकम्पका सानातिना झट्का केही दिन जारी रहने हुनाले सतर्कता भने अझै अपनाउनुपर्ने उहाँहरूको राय छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार त्रिपालमुनि बसेर ज्यानलाई थप रोगव्याधीको जोखिममा पार्नु अब आवश्यक छैन । भूकम्पपछिका पराकम्पका झट्काहरू सामान्य रूपमा केही दिन जारी रहने भए पनि आत्तिनुपर्ने खालको भूकम्प अब नआउने उहाँले बताउनुभयो ।
शनिबार दिउँसो ११ः५६ मा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट अहिलेसम्म पराकम्प हुने क्रम नरोकिएको उहाँको भनाइ छ ।
“ठूलो धक्कापछि उप्किएका चट्टान पुनः आफ्नो स्थानमा आउने क्रममा झट्काहरू भएको हो, अब पुनः ठूलो रेक्टर स्केलको भूकम्प तत्कालै हुँदैन”, अधिकारीले भन्नुभयो ।
अन्तर्राष्ट्रिय मिडियाले तत्काल ठूलो रेक्टर स्केलको भूकम्प जानसक्ने भन्दै अफवाह फैलाएकोमा दुःख व्यक्त गर्दै उहाँले हल्लाको पछि नलाग्नु आग्रह गर्नुभयो ।
मापन केन्द्रले दिएको जानकारी अनुसार वैशाख १२ गते शनिबार ३८ वटा धक्का अनुभव गरिएको थियो । तीमध्ये चार वटा ठूला थिए भने बाँकी चार रेक्टर स्केलमुनिका थिए ।
त्यस्तै १३ गते आइतबार पनि ३८ वटा धक्का अनुभव गरिएको थियो । तीमध्ये एकमात्र ६.९ रेक्टर स्केलको र बाँकी सबै चार रेक्टर स्केलमुनिका थिए ।
यसैगरी १४ गते सोमबार १३ वटा धक्का अनुभव गरिएको थियो । ती सबै पाँच रेक्टर स्केलमुनिका थिए ।
शक्तिशाली भूकम्प भएपछि त्यसका पराकम्प हुने क्रम क्रमशः घट्दै गएको केन्द्रका प्रमुख अधिकारीको भनाइ छ । उहाँको अनुसार १५ गते मङ्गलबार दुई बजेसम्म सात वटा धक्का अनुभव गरिएको छ तर सबै तीन रेक्टर स्केलसम्मका छन् । साना पराकम्पको झट्का खासै अनुभव गर्न नसकिने भन्दै उहाँले बाहिर फैलिएको अफवाहजस्तो अब आत्तिनुपर्ने अवस्था छैन ।
सोमबार राति नौ बजेर ३६ मिनेटमा ४.५ रेक्टरको भूकम्पले काठमाडौँमा ठूलै धक्का दिएको थियो । त्यसको केन्द्र काठमाडौँ नजिक परेकाले त्यस्तो अनुभव भएको उहाँले जानकारी दिनुभयो । नेपाल भूकम्पको झट्का नेपालमा निरन्तर गइरहने हुनाले पनि सतर्कता भने सधैँ अपनाउन आवश्यक रहेको अधिकारीको सुझाव छ ।
त्यस्तै, शनिबारदेखि मङ्गलबारसम्म गएको भूकम्पको झट्काले २४ जिल्लामा बढी धनजनको क्षति भएपनि अफवाह र हल्लाका पछाडि नलाग्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आग्रह गरेको छ ।
विपद्को यस संवेदनशील घडीमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पुनः ठूलो रेक्टर स्केलको भूकम्प हुनसक्ने र काठमाडौँमा ज्वालामुखी फुट्नेसम्मको हल्ला फैलाएकाले त्यसको पछाडि नलाग्न प्रतिष्ठानले आग्रह गरेको छ ।
प्रतिष्ठानका सचिव डा. बुद्धिरत्न खड्गेले मङ्गलबार विज्ञप्ति प्रकाशित गर्दै वैज्ञानिक तथ्यका आधारमा आएको सूचनालाई मात्र आधिकारिक मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
“हालसम्म कुनै भूकम्पको मिति, प्रकार र क्षमता आँकलन गर्नसक्ने कुनै पनि प्रविधि विकसित भई नसकेको तथ्य जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा चर्चा गरिएको छ ।रासस
