रैंयाँ मगर महिलाको सुन्दरता र गहना हो- नायीका मगर

Read Time:11 Minute, 54 Second

जातीय पहिरन — पहिचान र आत्म रक्षाको प्रतिक
MENOKO Films and Media House Presents’
Rainyaa रैंयाँ  

raya2.mp3 अडियोमा सुन्नुहोस

  रैंयाँ मगर महिलाको सुन्दरता, पवित्रता र सतित्व अनि आत्मरक्षाको कवज मानिएको गहनाको नाम नै रैंयाँ हो भने यसको उपयोग विधि व्यक्तिगत, साँस्कृतिक र बहुपयोगलाई कथा बनाई चलचित्र पर्दामा उतार्ने प्रयास नै मगर चलचित्र रैंयाँ हो ।

मगर महिलाले प्राचीनकाल देखि प्रयोग, उपयोग र पहिँचान गरेका करिव तीन दर्जन गहना मध्ये रैंयाँ बनावट आकार र प्रकारले बेग्लै र बडो रहस्यमयी मानिन्छ । मगर महिलाका सबै जसो उमेर समुहले यसलाई अपनाएको पाइन्छ भने समयान्तर सँगै यसको प्रयोगमा कमी देखिन्छ । नारीको सुन्दरता, अस्तित्व, आत्मरक्षा र पहिचान सँगै आत्म सम्मानको प्रतीक रैंयाँलाई चलचित्रको पर्दामा उतार्ने र समुदायमा इतिहास, मगरपन, मनोरञ्जन र संरक्षणको पर्खाइमा रहेको गहना रैंयाँ चलचित्र आफैमा मगर चलचित्रको इतिहासमा कोशे ढुंगा हुने आशा गरेका छौं । राज्यसत्ताको लागी पोखरा बाट मीना थापा मगगरले रैंयाँका कलाकाहरु संग कुराकानी गर्नु भएको संपादित अँस :

अशोक आले मगर

  जीवन आफैमा प्रयोग र संयोग रहेछ । अध्ययनको क्रममा केही बर्ष बेलायत बसाई पछि नेपाल आएँ । जन्मभूमिदेखि टाढा बेलायतको बसाईमा पनि मलाई त्यहाँको संस्कृति र रहन सहन देख्दा आफ्नो समाज रहेको कला र संस्कृति पनि यस्तै गरि संरक्षण र प्रर्वद्धन भएको देख्ने रहर पलाउँथ्यो । तसर्थ यस तर्फ केही गर्ने अठोट सहित नेपाल पर्के । जन्म घर तनहुँ भए पनि आमा बाबाको साथमा पोखरामा हुर्के/बढे र पढेको ठिटो नेपाल पर्के पश्चात केही बेर के गर्ने के नगर्ने भन्दै हराउन पुगें । संयोग नै भन्नु पर्छ— रैंयाँ चलचित्र निर्माण हुन लागेको थाहा पाएँ ।

चलचित्रमा भाग लिनको लागि वर्कसपमा बस्नु पर्ने भो । चलचित्रको स्क्रिप्टमा मगर चलचित्रका प्रथम नायक राज थापा मगर र चलचित्रका निर्देशकसँग ७ दिने वर्कसपमा बसेर चलचित्र विद्या बारे ज्ञान लिने र मगर समाजका विविध विषयमा अतुलनीय शिक्षा हासिल गर्ने मौका प्राप्त भो ।

हल्का नाच्न जान्ने ठिटो म— चलचित्रमा त्यतिले नपुग्ने भयो । यसर्थ चलचित्रको लागि नृत्य गर्न जान्नु पर्ने भयो । यसर्थ नृत्य प्रशिक्षण लिन कला केन्द्र तर्फ लागें । चलचित्र निर्माण सँगै मगर समाजका गीत, संगीत, नृत्य र रहन सहन बारे अझ बढी बुझ्ने मौका पाएँ । चलचित्रमा समावेश भएको कौडा छायाँकन पूर्व यसको प्रशिक्षणको क्रममा गाउँको टिपिकल कौडामा पनि हामी नृत्य गरेको कारण कौडा के हो? बुझ्ने मौका प्राप्त भयो ।

चलचित्र छायाकन पश्चात पोखरामा कौडा नृत्यको प्रतियोगीता आयोजना भएको थियो त्यसमा हामी बस्ने ठाउँ नेपाल मगर संघ, चाउँथे ईकाई समितिको तर्फबाट मैले नृत्य निर्देशक गरि भाग लिने क्रममा हाम्रो चलचित्रमा समावेश भएको कौडा गीत प्रथम भयो । जसले मलाई अझ भावुक बनायो । चलचित्र निर्माण पूर्व नृत्य गर्न नजान्ने म, चलचित्र छायाँकन हुँदा सम्म कौडा गीतमा नृत्य निर्देशन गर्न सक्ने क्षमताको विकास गरेको रहेछु । जसले गर्दा अझ केही गर्ने जोश, जाँगर थपिएको छ ।

चलचित्र निर्माणको क्रममा निर्देशक मेजन पुन मगरको मेहनत, धैर्य र कामप्रतिको सम्मान र लगावले मलाई ठूलो प्रेरणा मिलेको छ । चलचित्रमा पहिलो प्रयास भएकोले कमी कमजोरी स्वीकार गर्दै अझ यस क्षेत्रमा अगाडि बढ्ने चाहना छ । यसको लागि रैंयाँ
चलचित्र अवलोकन गरि मलाई सल्लाह, सुझाव दिनु हुने छ भन्ने आशा लिएको छु । धन्यवाद ।

प्रिया थापा मगर

  रैंयाँ फिल्म खेले पश्चात प्राप्त अनुभव, देखेको, सिकेको, भोगेको कुराहरुलाई तपाईहरु समक्ष प्रस्तुत गर्न पाउँदा म हर्षित छु । रैंयाँ चलचित्रमा मलाई सबैले सहयोग गर्नु भयो । यसको लागि सबै जनालाई धन्यवाद अर्पण गर्न चाहन्छु ।

आजको यो २१ औं शताब्दीमा आई पुग्दा नेपालमा बसोबास गर्ने जातजाति मध्ये मगर तेश्रो ठूलो जनसंख्या भएको जाति हो भनेर हामी मगरलाई गर्व लाग्दछ । यसै सन्दर्भमा मगर जातिको चलन, रितिरिवाज, भाषा, भेषभूषा आफ्नै बिशेष खालको रहेको छ । मगर महिलाहरुले लगाउने गहना मध्ये रैंयाँ र रैंयाँ चलचित्र निर्माण हुँदा म पनि यो चलचित्रसँग नजिक रहेर आफुले सक्दो अभिनय गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरिरहेको छु ।

कारण रैंयाँ नेपाल मगर महिला संघको लोगोको रुपमा पनि अंकित चिन्ह हो जसको महत्व भएकै कारणले रैंयाँ लोगोमा समावेश भएको छ । मगर कथा वस्तुमा आधारित रहेर चलचित्र निर्माण हुन लागेको कुरा थाहा पाउँदा पनि मन प्रफुलित भएको थियो । र, वर्कसपमा भाग लिएर जस्तो सुकै भूमिका पनि गर्छु भन्ने आँट गरेको थिएँ । वर्कसपमा समावेश भए यता चलचित्र निर्माण गर्नको लागि अग्रजहरुले खेलेको भूमिका धेरै थोरै मात्र भए पनि मलाई थाहा भयो । यसर्थ मगर समाज, मगर चलचित्रको लागि वहाँहरुको लगाव, सहयोग, प्रेरणाकै कारण मैले चलचित्रमा मुख्य पात्र जैसराको भूमिका निर्वाह गर्न हौसला प्राप्त भयो । जैसराको भूमिकामा मैले कति न्याय गर्न सके चलचित्र अवलोकन गरि सरसल्लाह, सुझाव दिन हुन अनुरोध समेत गर्दछु ।

चलचित्रमा संलग्न भए पछि मैले अभिनय गरेको जैसरा पात्र कविता लेखन गर्ने र अझ उच्च शिक्षाको लागि संघर्ष गर्न चाहने सोझो पात्रको रुपमा मैले बुझेको छु । यो पात्र जस्तै मैले जीवनमा आफुलाई पनि पाएको छु । म पनि पोखरामा अध्ययनरत रहँदै आफ्नो पहिचानको लागि अन्नपूर्ण एफएममा मगर भाषामा समाचार वाचन गर्ने काम देखि लिएर नेपाल मगर विद्यार्थी संघ पिएन क्याम्पस ईकाई समितिमा प्रत्यक्ष संलग्न छु । यसर्थ यो  चलचित्रमा जैसरा पात्र र म निकै नजिक रहेको कुरा पनि अवगत गराउँदै मगर चलचित्रलाई माया गरौं । निर्माण भएको रैंयाँ चलचित्रलाई हेरेर प्रतिक्रिया, सरसल्लाह अनि सुझाव दिन हुन अनुरोध गर्दछु । 
 
दुर्गा ठाडा मगर

  कलिलो उमेरमा लाहुरे बनेर भारतको विभिन्न स्थानमा बन्दुक र गोली गठ्ठासँग जीवनलाई खुकुरीको धारमा राख्दै जीवन यापन गरेको म पेशाले लाहुरे— मगरको नाताले मगर संस्कृति र संस्कारप्रति गहिरो लगाव थियो र छ । लाहुरे रहँदै मगर चलचित्रमा अभिनय गर्ने मनसाय अनुरुप काम थालनी गरेकै हो तर समय परिस्थितिले साथ दिएन । यसर्थ लाहुरे जीवनबाट अवकास आए पश्चात रैंयाँ चलचित्रको लागि वर्कसपमा भाग लिन यस चलचित्रका निर्देशक मेजन पुन मगरले बोलाउनु भयो । के खोज्छस्, कानो आँखो भने झैं यो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै वर्कसपमा भाग लिएँ ।

वर्कसपले फाइदा नै पुर्यायो हामी नयाँ कलाकार सबैलाई । रैंयाँ चलचित्रमा भाग लिए पश्चात आफ्नो आँखाले रैयाँ चलचित्रलाई हेर्दा यो मगरको कथा वस्तुमा राम्रो बनेको छ भन्ने लागेको छ । यसलाई माया गरिदिनु भयो भने अर्को मगर चलचित्र निर्माणको लागि सहयोग हुने छ । हामी नयाँ कलाकारहरुलाई चलचित्र अवलोकन गरि सल्लाह, सुझाव दिन हुन सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

पूर्ण थापा मगर सुगा
उचाई – ४ फिट ५ इन्च
वजन – ३४ के.जी.

  यस उचाई र वजनका साथ हाँस्य कलाकारको रुपमा २०५८ सालबाट चलचित्र क्षेत्रमा मेरो अभिनय यात्रा निरन्तर रुपले अघि बढ्दै आएको छ । गुरुङ्ग र मगरको विभिन्न चलचित्र गरि मैले अहिले सम्म ८ वटा चलचित्रमा अभिनय गरेको छु ।

मेरो आफ्नो कला निखार्ने क्रममा मगर जातिको परम्परालाई झल्काउने कथानक चलचित्र रैंयाँमा मैले व्यावसायिक कलाकारको रुपमा काम गर्ने मौका पाएँ । समग्र रुपमा रैंयाँ चलचित्र सम्पुर्ण मगर दर्शकहरुलाई चित्त बुझ्दो बनेको छ-जस्तो लाग्छ । किनभने यो चलचित्रको स्क्रिप्ट अध्ययन पश्चात यसले रैंयाँ (काँडे) बालाको महत्व बारे दर्शाएको छ । यो नै निर्माण भएको चलचित्रको सबै भन्दा राम्रो पक्ष हो ।

अन्तमा छरिएर रहेका मगरहरुलाई म के भन्न चाहन्छु भन्दा एकचोटी रैंयाँ चलचित्र हेरेर चलचित्र र मेरो अभिनयको मुल्यांकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरुको मायाले नै मेरो सफलताको बाटो खुल्दै आएको छ । मैले गरेको भूमिकाको बारेमा तपाईहरुसँग भएको भेटमा सुन्दा मैले गरेको भूमिकाले न्याय गरेको रहेछ भन्ने लागेको छ भने यो रैंयाँ चलचित्र अवलोकन गरेर पनि मेरो भूमिकाको बारेमा मुल्यांकन गरिदिनु होला । धन्यवाद ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %