फेवा टेलिभिजनको नियमित प्रसारण सुरु

Read Time:4 Minute, 3 Second

रूद्र श्रीस मगर

पोखरा, ८ वैशाख – पश्चिमाञ्चलको पहिचान, समाज रुपान्तरणमा हाम्रो अभियान भन्ने मूल नाराका साथ फेवा टेलिभिजनको नियमित प्रसारण मंगलबारदेखि सुरु भएको छ ।

 

पोखराबाट प्रसारण हुने टेलिभिजनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नियमित प्रसारण सुरु गरेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै टेलिभिजन सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र पौडेलले सञ्चारमाध्यमहरूको भीडमा आफ्नो छुट्टै पहिचान निर्माण गर्दै अघि बढ्ने बताए ।

पोखराका युवा उद्यमीहरूको लगानीमा सञ्चालित फेवा टेलिभिजन समाज परिवर्तनको संवाहक बन्ने बताउँदै अध्यक्ष पौडेलले जनताको सूचनाको हकलाई स्थापित गर्दै पश्चिमाञ्चल क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, व्यवसायिक, स्वास्थ्य तथा लैंगिक र समग्र पर्यटन विकासका निम्ति टेलिभिजनले योगदान पुर्याउने उल्लेख समेत गरे ।

टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश गिरीले सूचना तथा मनोरञ्जनमुखी कार्यक्रम, समाचार र समाचारमूलक कार्यक्रम उत्पादन एवं प्रसारण गरी  जनताको सुख, दुःखमा साथ दिँदै सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

समाजभित्र लुकेर रहेका सीप, कला र क्षमताको प्रस्फुटन गरी सबल र समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउन टेलिभिजन पत्रकारिताका माध्यमबाट केही गर्न सकिने उद्देश्यका साथ टेलिभिजनको स्थापना गरिएको जनाउँदै प्रबन्ध निर्देशक गिरीले पश्चिमाञ्चल क्षेत्रको कला, संस्कृति र साहित्य र समग्र विकासका निम्ति फेवा टेलिभिजन कोसेढुंगा साबित हुने विश्वास लिएको समेत बताए ।

टेलिभिजनका स्टेशन म्यानेर हेमराज अधिकारीले सुरुमा बिहान ६ बजेदेखि राती ११ बजेसम्म दैनिक १७ घण्टा प्रसारण हुने यस टेलिभिजनलाई निकट विभष्यमा नै २४ सै घण्टा प्रसारणमा ल्याउने योजना रहेको जनाउँदै टेलिभिजनमार्फत् आर्थिक, सामाजिक, न्यायिक, राजनीतिक, साहित्यिक, सांस्कृतिक, बाल सचेतना तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण हुने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले टेलिभिजनको स्थापना हुनु सुखद कुरा भएको बताउँदै पत्रकारहरुको उचित पारिश्रमिकमा ध्यान दिन आग्रह गरे ।

प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पोखरामा नयाँ अवधारणासहित फेवा टेलिभिजनको स्थापना भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टेलिभिजनका बजार प्रमुख उदिपराज ढुंगानाले र सञ्चालक समिति सदस्य खिमबहादुर गुरुङले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %