दाइजोको पैसाले अशक्त बालबच्चालाई सबल बनाउदै छु : सविता उप्रेती

Read Time:12 Minute, 3 Second

दोलखा जिल्लाको नाम्दु -१ मा २८ वर्ष अघि जन्मेकी सविता उप्रेतीले समाजशात्र बिषयमा स्नाकोत्तर गरेकी छिन ।

 

तपाई हामी पनि हाम्रै छरछिमेक कुनै बालबालिकालाई बाधेर या थुनेर राखेको देख्दै आएका छौ । हाम्रो समाजमा  अटिजमको बारेमा उचित ज्ञान नहुदा अनाहकमा त्यस्ता बालाबालिकाहरु पशु सरहको जीवन जिउदै आएका छन् । संयुक्त राष्ट्र संघ एक तथ्यांक अनुसार हरेक ८८ जना बालबालिका मध्ये एक जनालाइ यस्तो समस्या देखिने गरेको छ । राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्रमा अधिकृतको रुपमा काम गर्ने शिलशिलामा फिल्ड जादा उप्रेतीले धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे पछि २०६८ साल चैत देखि काठमाण्डूको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापना (एस. एस. डि .आर. सी.) केन्द्र खोलेर अटिजम बालाबालिका लागि काम गर्दै आएकी छिन । हाल उक्त संस्थाले ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ ।

स्थापना काल देखि ४ सय ८० जना बढिलाई सेवा प्रदान गरिसकेको छ । घरको  आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी थिइन् । २ वर्ष अघि अमेरिकाको  डिभी परेर पनि अमेरिकाको मोह त्यागेर आफ्नो जीवन अटिजम बालाबालिकाको लागि सारा जीवन समर्पित गरेकी छिन । संस्था स्थापना गरे देखि हालसम्म गरेका संघर्षका नालीबेलीसंग नजिक रहेर राज्यसत्ताका कोरिया संवाददाता निश्चल काउचाले उप्रेतीसंग गरेको कुराकानी :

अटिजम भनेको के हो ? 

अटिजम जन्मजात हुने नशा र तन्तुको बिकासको क्रममा भएको असमानता एउटा रुप हो । जस्लाई ‘ Neuro development disorder ‘ भनिन्छ । अटिजम भएको व्यक्तिमा संचार विचलन, सामाजिक रुपमा घुलमिल हुन कठिनाई तथा कल्पना शक्तिको लचकतामा कमि हुने जस्ता मुख्य तीन समस्या अटिजम भएको व्यक्तिमा हुने गर्दछ । उनीहरुमा रहेको ईन्द्रियहरुको उतारचढावको फलस्वरुप अटिजम भएका व्यक्तिहरुले भिन्दै खालको प्रतिक्रिया देखाउछन । जुन असामान्य व्यवहारको रुपमा देखा पर्दछ । अटिजम कुनै रोग होईन । यो एउटा अवस्था हो । जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्ति बौद्धिक क्षमता अपाङ्गता भएका ब्याक्तिहरुको भन्दा बढि भएको पाईएको छ । हरेक ८८  जना मध्ये एक जना बालबालिकालाई अटिजम diagnosis हुने गरेको पाईएको छ ।

एस. एस. डि .आर. सी. संस्थाको स्थापना कसरी भयो ?

मैले राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्र जुन समाज कल्याण परिषदको मातहतमा रहेको छ । उक्त  केन्द्रको ब्यबस्थापन अधिकृतको रुपमा काम गर्ने मौका पाएको थिए । त्यहि काम गर्ने क्रममा अपाङ्गता भएको व्यक्तिहरु संग नजिकिने मौका पाए र उहाहरुको आट र शाहस देखेर म प्रेरित भए । म कामको शिलशिलामा फिल्डमा जादा धेरै ठाउमा बालबालिकालाई थुनेर, बाधेर राखेको देखे । यसरी दिन भरि एकै ठाउमा थुनिएर, बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा, पिसाब खाएको मेरै आखाले देखे पछि सक्नेहरुलाई त बाटो देखाई दिए पछि आफै सजिलै आत्मनिर्भर हुन सक्छन तर आफै केहि गर्न नसक्नेहरुलाई पो हामीले केहि गर्नु पर्छ भन्ने लाग्यो र त्यसरी थुनिएर, बाधिएर राखिएका बालबालिकालाई बन्धनबाट मुक्त गराएर उचित आवास र शिक्षा दिने उदेश्यले संस्था खोलिएको हो । मलाई घरको जिम्मेवारी त छदै थियो । त्यस माथि मेरै बिद्यार्थी जीवन धान्न मुश्किल थियो ।

तर, मैले मेरो परिवारलाई  पछि मेरो बिवाह हुदा दाईजो दिनु पर्दैन, दाइजोको रुपमा दिने पैसा अहिलेनै दिनुहोस भनेर जुटाएको सानो रकमले दुई जना अटिजम बच्चाबाट मैले एस. एस. डि .आर. सी. शुरु गरेकी हुँ ।

तपाइले अटिजम बालबालिका पालपोषण गर्दै आउनु भएको छ । उनीहरुको पालपोषणको म्यानेज कसरी गर्दै आउनु भएको छ ?

अहिलेसम्म संस्थाको नियमित स्रोत छैन । स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ । संस्था चलाउन सहकारीबाट ऋण लिएर, साथी भाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ ।  आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकहरुले मासिक रुपमा सहयोग गर्नु हुन्छ । अनाथ, आर्थिक रुपमा कमजोर भएका, सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली  दिएका बालबालिकाको निशुल्क शिक्षा, खान बस्नको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ । केही  मनकारी नेपाली दाजुभाई तथा  दिदी बहिनीहरुले संस्था भिजिट गरेर स्वईच्छाले गहयोग गर्नु हुन्छ । गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीहरुलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले  कृष्ट्रलबाट बनाएका गहना, चुरा, बेचेर केहि मात्रामा राहत मिले पनि संस्था आर्थिक संकटबाट नै गुज्रिरहेको छ ।

राज्यबाट कत्तिको सहयोग पाउनु भएको छ ?

नेपालको सन्दर्भमा जनचेतनाको अभावको कारणले गर्दा अटिजमको पहिँचान भएको अवस्था छैन । हालसम्म हामीले राज्यबाट कुनै पनि सहयोग प्राप्त गरेका छैनौ । हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले अटिजमलाई पहिँचान गराएर बौद्धिक अपाङ्गताबाट हटाएर अब छुट्टै अटिजमको वर्ग निर्धारण गर्नको निम्ति कानुनी प्रक्रियामा छ । जसले गर्दा भोलि दिनमा राज्यबाट सहयोग पाउने अपेक्षा राखेका छौ ।

संस्था चलाउदा विभिन्न कठिनाई र समस्याहरु पनि आउछन होलान नी ?  

संस्था चलाउदा विभिन्न कठिनाइ र समस्याहरु त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु । एउटा घर चलाउन त कति गाह्रो हुन्छ । सामाजिक संस्था चलाउन चुनौतीहरु त पक्कै छन् । यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ त्यसै माथि आर्थिक भार पनि छदैछ । राज्यले अटिजमको बारेमा  स्पष्ट नीति नियम व्यवस्था नगरेको अवस्थामा समाजमा नौलो कार्यको थालनी गर्दा समेत हौसला दिनुको साटो कुरा काटेको देख्दा दु:ख लागेर आउछ ।

तपाई  यो उमेरमा नै निस्वार्थ रुपमा समाज सेवामा लाग्नु भएको छ ।  कस्तो अनुभव गर्दै हुनुहन्छ ?

समाजसेवा गर्ने भनेको आत्मसन्तुष्टिको लागि हो । अटिजम बाल बालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि त मिलेको छ नै त्यो भन्दा ठुलो कुरा अटिजम बाल बालिकाबाट नया जीवन पाएकी छु । आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु ।

यहाँ आफ्नै लागि बाच्न त गाह्रो छ । अरुको भलाईको लागि जीवन समर्पित गर्दा  कस्तो लाग्छ ?

आफ्नो लागि त जो पनि बाचेकै हुन्छ । मानव भएर जन्मे पछि समाज आफ्नो पहिचान खोज्ने होईन आफ्नो पहिचान आफै बनाउने हो । आफु भन्दा अशक्त दीन दु:खीहरुको  लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई 

एस. एस. डि .आर. सी. मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा, बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा मैले सारा दुखहरु बिर्सन्छु । त्यति बेला मलाइ जुन खुसी मिल्छ त्यो खुसी पैसाले कहा किन्न सकिन्छ र ?

भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छ भनिन्छ । समाज सेवामा लागेर जीवन देखि  सन्तुष्ट हुनुहुन्छ ?

जिन्दगीका धेरै चुनौती, समस्या, कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु । केहि पनि गुमाएकी छैन । मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नया उर्जा पाएकी छु ।

तपाइको भावी योजनाहरु के-के छन् ?

संस्थाको निजी भवनको लागि जग्गा खोजिरहेका छौ । संस्थालाई भावी पुस्तासम्म निरन्तरता दिनको निम्ति रु २ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको छ । गाउ-गाउ पुगेर अटिजम सम्बन्धि जनचेतना जगाउदै देश भर रहेका अटिजम बालबालिकालाई एकताको एउतै सुत्रमा बाध्ने योजना पनि छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ । सहयोगको लागि हामी आभारी छौ । एस. एस. डि. आर. सी. परोपकारी अक्षय कोषको लागि नेपाल, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, सिंगापुर, यु.ए.ई,  माल्दिप्स लगायतका देशहरु सहयोग अभियान थालनी गरिदिनु हुने मनकारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %