गोविन्द घर्ती
देवदह, चैत २८ – कृषिको क्रान्ति विना देशको विकास असम्भव रहेको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन ।
उनले नेपाललाई कृषि, विधुत र पर्यटनको विकास गर्न राज्य क्रियाशिल रहेको बताए। नेपाल प्राकृतिक विविधताले भरिएको देश भएकाले नेपाललाई प्राकृतिक श्रोतका आधारमा आर्थिक विकास गर्न सकिने बताए । साना किसान कृषि सहकारी संस्था देवदहको १६ औ वार्षिक साधारणसभा तथा भवन समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले उक्त कुरा बताएका हुन ।
कृषिलाई व्यवसायिकिकरणको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उनले प्रतिवद्धता व्यक्त गरे । लोडसेडिङ्ग मुक्ति पछि औधोगिक विकासले फड्को मार्ने हुदा राज्य दुई बर्ष भित्र लोडसेडिङ्ग मुक्त बनाउन लागि परेको डा. महतले जिकीर गरे ।
शान्तिको सुनिश्चितता विना देशले आर्थिक विकास गर्न नसक्ने हुदा राजनैतिक दलहरु गम्भिर भएर लाग्नु पर्ने बताए । आन्दोलन र बन्दले देशको विकासमा अवरोध पुर्याउने भएकाले आन्दोलन र बन्द हडताल नगर्न मन्त्री महतले आग्रह गरे । सो कार्यक्रममा बोल्दै सभासद अब्दुल रज्जाकले देवदह क्षेत्रको विकासको लागि राज्यले बजेट विनियोजन गर्नुपर्ने बताए । उनले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दिगो गुरुयोजना बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
त्यसै गरि देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले लुम्बिनीको विकास संगै देवदह, रामग्राम र तिलौराकोटको पनि संगै विकास गरेर जानुपर्ने बताए । उनले देवदह क्षेत्रको ऐतिहासिक स्थलहरुको पुरातात्व विभागले उत्खनन कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । सोही अवसरमा अर्थमन्त्री डा. रामशरण महतले साना किसान कृषि सहकारी संस्थाको भवनको समुदघाटन गरेका थिए । अर्थमन्त्री महतले उदघाटन पश्चात भवनको निरक्षण समेत गरेका थिए ।
संस्थाका अध्यक्ष जयनारायण गौडेलको अध्यक्षता, उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र प्रबन्धक सरला सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गौडेलको संस्थाको बार्षिक प्रतिवेदन र लेखा संयोजक रामकृष्ण पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
