बागलुङ–पोखरा मगर समाजको भित्तेपात्रो विमोचन

Read Time:3 Minute, 5 Second

रूद्र श्रीसमगर

पोखरा, २७ चैत

बागलुङ–पोखरा मगर समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७२ सालको भित्तेपात्रो विमोचन गरिएको छ ।
शुक्रबार समाजको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच सो ‘मगरात भित्तेपात्रो–२०७२’को विमोचन गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार संयोजक एवं आदिवासी जनजाति अगुवा भीमबहादुर श्रीसमगर, अध्यक्ष मेखबहादुर छन्त्यालमगर र विशेष अतिथि बागलुङ समाज–पोखराका पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठले संयुक्त रूपमा विमोचन गरेका थिए ।
भित्तेपात्रो विमोचन गर्दै श्रीसमगरले सम्पूर्ण मगरहरू एक भएर आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए । बागलुङे मगरहरूबीचको एकतामा जोड दिँदै श्रीसमगरले राज्यसत्तामा पहुँच र प्रतिनिधित्व नभएसम्म मगर जातिको मुक्ति हुन असम्भव रहेको बताए । त्यस्तै, विशेष अतिथि श्रेष्ठले जो जहाँ जसरी रहेपनि बागलुङेहरूबीच एकता आवश्यक रहेको भन्दै बागलुङ–पोखरा मगर समाजले सक्रिय गतिविधि सञ्चालन गरेकोमा प्रशंसा गरे ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष निशा घर्तीमगर लगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको १८ औं क्याम्पस अधिवेशनबाट निर्वाचित अध्यक्ष बागलुङ, निसीका निशा घर्तीमगर, जैदीका उपाध्यक्ष ध्रुव रानामगर र कोषाध्यक्ष खुङखानीका कुलबहादुर बुढामगरलाई सम्मान समेत गरिएको थियो ।
समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए भने उपाध्यक्ष राम बहादुर पुनमगरले स्वागत गरेका थिए । यसै बीच, शुक्रबार नै भएको समाजको बैठकले एक दिने मगर सचेतना कार्यक्रम गर्ने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहयोगमा आगामी वैशाख ७ गते एक दिने मगर सचेतना कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %