रूद्र श्रीसमगर
पोखरा, २१ चैत – नेकपा–माओवादीले आफ्नो दुई महिने मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत कास्कीको पोखरा उप–महानगरपालिका वडा नं. १०, मिलनटोलका टोलबासीसँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
शनिबार भएको भेटघाट तथा अन्तरक्रियाका क्रममा टोलबासीहरूले राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थ मात्रै हेर्ने गरेको र देश तथा जनतालाई कहिल्यै महŒव नदिएको बताएका थिए । साथै, उनीहरूले छिटो, राम्रो र सहज तरिकाले नयाँ संविधान बनोस् भन्ने आफूहरूको चाहना रहेको बताउँदै सबै पार्टी मिलेर संविधान बनाउनुपर्नेमा जोड दिएका थिए ।
भेटघाटका क्रममा उठेका जिज्ञासाबारे बोल्दै नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ले आफ्नो लागि सबैले राजनीति गर्नु आवश्यक रहेकोमा जोड दिए ।
नेता श्यामले अहिले राष्ट्रियता गम्भीर खतरामा परेको बताउँदै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलालहरूको चंगुलबाट देशलाई मुक्त बनाएर मात्रै देशमा नयाँ जनवादी व्यवस्था ल्याउन सकिने उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य लोकबहादुर थापामगर ‘धर्म’ले विदेशी शक्तिकेन्द्रले नेपाललाई आफ्नो स्वार्थपूर्तिको केन्द्र बनाउन खोजेको बताउँदै विदेशी दलालहरूको ना·ेझार नभएसम्म नेपाली जनताले स्वाधीन महसुस गर्न नपाउने बताए ।
संसद्वादी दलहरूले एक पछि अर्को राष्ट्रघात गर्दै गएको भन्दै नेता धर्मले राष्ट्रघातीको भण्डाफोर गर्दै राष्ट्रियता बचाउन सबै नेपाली जनता पुनः एक पटक संघर्षमा उत्रनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य सह–इञ्चार्ज यशोदा सुवेदी ‘प्रभा’, केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’, जिल्ला सेक्रेटरी अर्जुन छन्त्याललगायतले उपस्थिति रहेको थियो । सो भेटघाट कार्यक्रममा मिलन टोलका आदिवासी जनजाति, महिला, युवा, भूपू सैनिकलगायत गरी ३० जनाको सहभागिता रहेको थियो ।
