तमूवानको लागि एकतावद्ध हुन्छौ

Read Time:9 Minute, 10 Second

तमू सभासद समन्वय समिति निर्माण गर्ने,

वेद गुरूङ (विवेक)

काठमाडौं – तमू समुदायका अगुवाहरूले तमूवानका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

तमू एकता दिवसको अवसरमा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले चैत्र १८ गते काठमाडौंमा आयोजना गरेको तमूवान प्रदेश र आदिवासी जनजातिको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो प्रतिबद्धता जनाएको हो ।

संविधानसभाका वर्तामान तथा भू.पू. तमू सभासदहरू, पूर्व मन्त्रीहरू, राजनीतिक अगुवाहरू, बुद्धिजिविहरू, सामाजिक संघसंस्थाका अगुवाहरू तथा अधिकाराकर्मीहरू उपस्थीत उक्त कार्यक्रममा तमूवानको लागि विभाजन हुँदा बिरोधीहरूलाई बल पुग्ने भन्दै अव मिलेर जानुको बिकल्प नभएकोमा जोड थियो ।

कार्यक्रममा नेकपा–माओवादीका सचिव एवं पूर्व मन्त्री देव गुरूङले राज्यबाट विस्थापित पारिएका तमूलगायत सम्पूर्ण आदिवासी जनजातिहरूले पहिचान र अधिकारसहितको संविधानको लागि आन्दोलनमा लाग्नुको विकल्प नरहेको जिकिर गरे । राज्यको अग्रगामी संविधान र राष्ट्रियताको समस्यालाई एकातिर राखेर नागरिकताको खोस्टाले मात्र राष्ट्रिय एकता हुन नसक्ने ठोकुवा गर्दै पूर्व मन्त्री गुरूङले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभा जुन तरिका र प्रक्रियाबाट भयो, त्यसले पहिचानको संविधान लेख्नेमा शंका रहेको धारणा राखे ।

यो संविधानसभा खाली एकात्मक् तथा संभ्रान्तहरूको हालीमुहाली गर्ने प्रक्रिया मात्र हो, गुरूङको भनाई थियो, “अव सम्पूर्ण तमूहरू आफ्नो अधिकारको लागि एकजुट भएर आन्दोलनमा लागौं” ।

कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका प्रवक्ता प्रा.डा. ओम गुरूङले सम्पूर्ण आदिवासी जनजातिहरू एक भएर अहिले चलिरहेको पहिचानको आन्दोलनमा समावेश हुनुपर्नेमा जोड दिए । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका प्रा.डा. गुरूङले जनजाति संघ संस्थाहरूको केन्द्रमा भन्दा जिल्लाहरूमा पहिचानको लागि सक्रिय रहेको दावी गर्दै केही केन्द्रीय अगुवाहरूले ढुलमुले प्रवृति देखाएकोमा गुनासो ब्यक्त गरे ।

त्यस्तैगरी नेपाली कांग्रेसका नेता एवं सभासद सूर्यमान गुरूङले पहिलो संविधानसभामा संघीयता र पहिचानको कुरा उठउँदा आफ्नै जाति र पार्टीका सभासदहरूले साथ नदिएको गुनासो पोख्दै अव पहिचान र सामथ्र्य ठोस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री समेत रहेका सभासद गुरूङले २०६९ को आदिवासी जनजाति आन्दोलनको पक्षमा सहमति जनाउदै सरकारको तर्फबाट हस्ताक्षर गर्दा आफ्नो पार्टीका नेताहरूले धेरै पटक स्पष्टिकरण सोधेको बताउदै आफू पूर्व–पश्चिम जहाँ रहेपनि तमूवानको पक्षमा रहेको जानकारी दिए ।

त्यसरी नै नेकपा (एमाले)का नेता एवं सभासद माननीय जमिन्द्रमान घलेले अहिले संविधानसभामा उठ्ने गरेको मुख्य मुद्धा संघियता र पहिचान मात्र भएकोले अधिकारको मुद्धा पनि उठाउन सक्नुपर्ने भन्दै त्यसको लागि निर्णायक छलफल आवश्यक रहेको धारणा ब्यक्त गरे । साथै पार्टीका नेताहरू नमाने पनि आफू पहिचानको पक्षमा सधैं अडिक रहने विश्वास समेत दिलाए ।

सभासद सभा ककसका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरूङले ककस सकस भएको धारण राख्नेहरू हाम्रै साथीहरू धेरै रहेको बताउनु हुँदै बाहुनको गुलामी गर्न छाडेर तमूवानका लागि सक्रिय हुने धारणा राखे । साथै पूर्व राज्यमन्त्री समेत रहेका गुरूङले पहिचानको आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्न नसकेकोमा चिन्ता ब्यक्त गरे ।

एकीकृत नेकपा (माओवादी) का नेतृ एवं पूर्व सभासद लक्ष्मी गुरूङले पहिचान हाम्रो माग हो र सामथ्र्य हामीसित नै रहेकोले राज्यको संरचना पहिचानसहितको हुनुपर्नेमा जोड दिदै कुनै दोधारमा नपरी तमूवानको लागि अघि बढ्न सबैलाई आग्रह गरे ।

यही सन्दर्भमा राप्रपाका नेता एवं पूर्व मन्त्री तोरणबहादुर गुरूङले जुनसुकै पार्टी र विचारमा तमूहरू भएतापनि आफ्नो पहिचान र तमूवानको लागि एक हुनुपर्ने बताए । एक प्रसंङ्गमा नेता गुरूङले तमूवानको लागि आवश्यक परे पार्टी छोड्न पनि तयार रहनुपर्ने तर बिरोध गर्दै हिड्न नहुनेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद माननीय सिता गुरूङले अहिलेको संविधानसभाबाट हामीले सोचे जस्तो संविधान बन्नेका न्युन संभावना रहेको धारणा ब्यक्त गर्दै पहिचानको लागि सधैं सबै पक्षबाट खबरदारी गरिरहनुपर्ने धारणा ब्यक्त गरे ।

पूर्व सभासद बुद्धिराम गुरूङले पहिला रूप र सार पक्षमा स्पष्ट हुनुपर्ने बताउदै तमूवान र पूर्ण समानुपातिक समवेशीताको लागि जीवन मरणको अवस्था आउन सक्ने र त्यसको लागि पनि आफू तयार रहेको जानकारी दिए ।

त्यस्तैगरी संघीय समाजवादी पार्टीका नेता नवराज गुरूङले अहिलेको मुख्य मुद्धा मालिक वन्ने कि सधैं दासी भएर बस्ने भन्ने रहेकोले दासबाट मुक्तीको लागि पहिचान र अधिकारको आन्दोलनमा होमिन सबै तमूहरूलाई आग्रह गरे । परिषदका संरक्षक सदस्य डेलमान गुरूङले एकतावद्ध भएर तमूहरूको अधिकारको लागि अघि बढ्दा उपलब्धी हुने भन्दै त्यसतर्फ तमूहरूको ध्यान जानुपर्ने बताए ।

तमू बौद्ध सेवा समितिका महासचिव टेकबहादुर गुरूङले अहिले आन्दोलनमा जाने की नजाने भनेर दोधार पर्ने बेला नभएको बताउदै एकताबद्ध भएर पहिचानको आन्दोलनमा जानुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरूङ, पूर्व आई.जी.पी हेमबहादुर गुरूङ, नेपाल तमू विद्यार्थी छोंज धींका अध्यक्ष लोक गुरूङ, नेपाल बराम संघका सदस्य मिना बराम, तमूस्यो ह्युल छोंज धींका महासचिव धना तमूस्यो, पत्रकार गणेशमान गुरूङलगायत तमू बुद्धिजिबि, अधिकारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिह?को उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तरक्रियात्मक रूपमा भएको कार्यक्रमले तमूलगायत तमूवानमा रहेका आदिवासी जनजातिहरूको हक, हित र अधिकारको पक्षमा संविधानसभा भित्र र बाहिर छलफल, संघर्ष र समन्वय गर्न तमू सभासद समन्वय समिति निर्माण गर्ने निष्कर्ष समेत निकालेको छ । परिषदका अध्यक्ष रेशम गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिव धनमान गुरूङले संचालन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %