कार्यकारी अधिकृत रानालाई मगर सङ्घ कास्कीद्वारा स्वागत

Read Time:3 Minute, 47 Second

रूद्र श्रीसमगर

पोखरा, २१ चैत – एक साता अघि मात्र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पोखरा उप–महानगरपालिकाको कार्यकारी अधिकृतका रूपमा सरुवा भइ आएका कार्यकारी अधिकृत उदयबहादुर रानामगरलाई नेपाल मगर सङ्घ कास्कीले स्वागत तथा सम्मान गरेको छ ।

शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत रानाले नगर परिषद्बाट पारित भएका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए ।

पोखरा रहुञ्जेल आफूलाई सघाउन आग्रह गर्दै कार्यकारी अधिकृत रानाले सबैको सल्लाह र सुझावलाई लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘म तपाईहरूकै सल्लाह र सुझावलाई आत्मसात गरेर अघि बढ्नेछु’, नेपाल मगर कर्मचारी सङ्घका महासचिव समेत रहेका रानालेभने, ‘सुन्दर नगरी पोखरालाई समृद्ध बनाउन सबैको उत्तिकै दायित्व छ, सबैसँग हातेमालो गरेर अघि बढ्न चाहन्छु ।’

निजामति सेवामा मगर जातिको प्रतिनिधित्व अत्यन्त न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै कार्यकारी अधिकृत रानाले निजामति सेवामा प्रवेश गर्नका लागि मगर समुदायका युवायुवतीहरूमा सचेतना फैलाउनु जरुरी रहेको बताए । मगर जातिको भाषा, धर्म, संस्कृति तथा भेषभूषा प्रवद्र्धनका लागि राज्यको नीतिबमोजिम आफूले सक्दो सहयोग गर्ने बताउँदै रानाले निजामति सेवामा आफ्नो संख्या वृद्धि गर्न मगरहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए ।

बाराको कलैया नगरपालिकामा १७ महिना, नुवाकोटको विदुर नगरपालिकामा १६ महिना, गोरखा नगरपालिकामा १६ महिना काम गरिसकेका कार्यकारी अधिकृत रानाले तत्पश्चात सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पनि काम गरिसकेका छन । २०५५ सालमा निजामति सेवामा प्रवेश गरेका रानाले जापानबाट ग्रामीण विकासमा स्नातकोत्तर र काठमाडौंबाट व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन ।

कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगर, जिल्ला शिक्षा कार्यालय, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापामगर, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक मोतिश्वर थापामगर, नेपाल मगर विद्यार्थी सङ्घ कास्कीका अध्यक्ष नेत्र घर्तीमगरलगायतले बोलेका थिए।

नेपाल मगर सङ्घ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले र सह–कोषाध्यक्ष कुमार थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %