युवा विद्यार्थीद्धारा नेतृत्वलाई पहिचानको पक्षमा आन्दोलित हुन खबरदारी
देब पचभैया
पोखरा, चैत्र ७ – नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको दुई दिने ४४ औं संघीय परिषद बैठक कास्कीको लुम्लेमा शनिवार देखि शुरु भएको छ ।
बैठकको नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि लेखीले विगतमा भएका सहमतिहरु सरकारले उल्ट्याउन खोजिरहेकाले आदिवासी जनजातिका अधिकार सुनिश्चित गराउन एकताबद्ध आन्दोलन जरुरी रहेकोमा जोड दिए । राज्यले आदिवासी जनजातिका मुद्धाहरुलाई लेनदेनको रुपमा लिने गरेकोमा आपत्ति जनाउनुहुदै पहिचानसहितको संघीय संविधान जारी गराउन सबै एक हुन आग्रह गरे । राज्यको पुनसंरचना गर्दा आदिवासी जनजातिहरुले जातिय नभई पहिचानको राज्यको माग गरिरहेकोमा अनावश्यक भ्रम फिजाइएकोमा दुख व्यक्त गरे ।
उद्घाटन समारोहमा संघीय परिषदमा एकल जातिय प्रतिनिधित्व गर्नुभएका अगुवाहरु धनमान गुरुङ, नोर्बु घले, लिला लिम्बु, दानसिंह राउटे, नित्यानन्द ताजपुरिया, आङदावी भोटे, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै अहिलेको संक्रमणकालिन अवस्था आदिवासी जनजाति महासंघले सबै आदिवासी जनजातिलाई एकताबद्ध गर्दै पहिचानको आन्दोलनमा उतार्नुपर्नेमा जोड दिएका थिए ।
महासंघको गता एकवर्षको गतविधीको समिक्षा र आउदो वर्षको कार्ययोजना तयार गर्ने बैठकको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालको अध्यक्षता र महासचिव पेम्बा भोटेको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुर्य भुजेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसैबिच आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति विद्यार्थी महासंघले कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आदिवासी जनजाति युवा महासंघ केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले ४ बुँदे ध्यानाकर्षण पत्र महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई हस्तान्तरण गरेका थिए ।
आदिवासी जनजाति युवा महासंघ कास्कीका अध्यक्ष तोरण गुरुङ, विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन कुमार तामाङ र आदिवासी जनजाति युवा महासंघ केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले हस्ताक्षरित ध्यानाकर्षण पत्रमा पहिचान विरोधी सत्तासिन पार्टीहरुको ९ बुँदे निर्णयको औपचारिक विरोध गर्नुपर्ने, पहिचान र अधिकारका पक्षमा भएका सबै कार्यक्रमको सर्मथन गर्नुपर्ने, पहिचानको पक्षमा संर्घषका कार्यक्रमहरु घोषणा गर्नुपर्ने, आदिवासी जनजाति आन्दोलनका लागि निर्णय लिन ढिलाई गरिएकोमा कमजोरी बैठकले महसुस गर्नुपर्ने उल्लेख छ । थापाले आदिवासी जनजाति युवा तथा विद्यार्थीहरुको माग आदिवासी जनजाति महासंघका नेतृत्वले पहिचानसहितको संघीयता निर्माणका लागि कि त तत्काल संघर्षका कार्यक्रम घोषणा कि त राजीनामा दिनुपर्ने चेतावनी दिए ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै महासंघका अध्यक्ष कुमालले युवा विद्यार्थी लगायत सम्पुर्ण आदिवासी जनजातिहरुको भावनामाथि महासंघ नेतृत्वले कहिल्यै कुठराघात गर्नेछैन भन्दै पहिचान सहित संघीयता र आदिवासी जनजातिका अधिकारका लागि आफुहरु क्रियाशील रहिरहेको र युवा विद्यार्थीको ४ बुँदाको उहाँ लगायत संघीय परिषदको बैठकका सहभागीहरुले समर्थन गरेका थिए । यसरी नै बैठकले आदिवासी जनजातिका अधिकारका लागि संवेदनशील भएर निर्णय गर्ने अध्यक्ष कुमालको प्रतिवद्धता थियो ।
महासंघको बैठकको दोश्रो सत्रमा महासचिव पेम्बा भोटेले सांगठनिक कार्यप्रगति प्रतिवेदन र आगामी ६ महिने कार्ययोजना प्रस्तुत गरेका छन । महासचिव भोटेद्धारा प्रस्तुत २० बुँदे कार्ययोजनामा संविधानसभाबाट पहिचानसहितको संघीय संविधान जारी गराउन सबै पहल गर्ने, आदिवासी जनजातिको सभासद सभा(ककस) गठन गर्ने, संविधानसभाको प्रत्येक समिति भित्र आदिवासी जनजाति विषयगत समिति बनाउने, आदिवासी जनजातिको बृहत राष्ट्रिय भेला गर्ने, प्रादेशिक तथा स्वायत्त क्षेत्रहरुमा खबरदारी सभाहरु गर्ने, राजनीतिक दल र सभासदहरु विच छलफल गर्ने, आदिवासी जनजातिको अन्तरराष्ट्रिय सम्मेलन गर्ने, महासंघको रजत जयन्ती मनाउने, आदिवासी जनजातिमैत्री संविधान आफै तयार गरी सार्वजनिक गर्ने लगायतका बुँदाहरु समावेश गरिएकाछन् ।
आइतवारसम्म सञ्चालन हुने संघीय परिषदको बैठकमा आदिवासी जनजाति महासंघका आवद्ध एकल जातिय संस्थाका अध्यक्ष वा प्रतिनीधिहरु सहित करिब ७० जनाको सहभागिता रहेको छ ।
