रूद्र श्रीसमगर
पोखरा, ४ चैत्र
नेकपा–माओवादीनिकट तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी), नेपालको राष्ट्रिय भेला आगामी २०७२ सालको जेठ ३० गते हुने भएको छ ।
मोर्चाको मंगलबार र बुधबार पोखरामा भएको केन्द्रीय समिति बैठकले आगामी जेठ १५ गतेभित्र देशैभरि जिल्ला भेला सम्पन्न गर्ने निर्णय समेत गरेको मोर्चाका केन्द्रीय सचिव लालबहादुर तमुले जानकारी दिए।
बैठकले पूर्व सभासद् बुद्धिराम तमु ‘टसी’को संयोजकत्वमा २९ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । जसमा केही पूरानै र केही नयाँ अनुहार छन् ।त्यस्तै, सह–संयोजकहरूमा आरबी तमु (काठमाडौं) र कृष्णबहादुर तमु (दैलेख), महासचिवमा सन्तबहादुर तमु (पर्वत), सचिवहरूमा राजेन्द्र तमु (तनहुा) र लालबहादुर तमु (कास्की) तथा कोषाध्यक्षमा पूर्व सभासद् कृष्णबहादुर तमु (कास्की) रहेका छन ।
त्यसैगरी, सदस्यहरूमा गणेशबहादुर तमु (ललितपुर), होमबहादुर तमु (स्याङ्जा), दुर्गाबहादुर तमु (पर्वत), धर्म तमु (मनाङ), कुन्ती तमु (काठमाडौं), दुर्गाकुमारी तमु (काठमाडौं), पृथ्वी तमु (काठमाडौं), भीम तमु (स्याङ्जा), सुरेन्द्र तमु (काठमाडौं), नवीन तमु (लमजुङ) रहेका छन नयाँ थपिएका सदस्यहरूमा बुद्धिजीवीका तर्फबाट पोलबहादुर तमु (कास्की), युवाबाट सन्देश तमु (कास्की), महिलाबाट गीता तमु (धादिङ), ओम तमु (गोरखा), मोहन तमु (स्याङ्जा) र पूर्ण तमु (दैलेख) रहेका छन ।
बैठकले पश्चिम क्षेत्र हेर्ने गरी सह–संयोजक कृष्णबहादुर तमु (दैलेख)लाई जिम्मेवारी दिएको छ भने मध्य तथा तमुवान क्षेत्र हेर्ने गरी मोर्चा केन्द्रीय कार्यालय र पूर्व तथा काठमाडौं उपत्यकामा सह–संयोजक आरबी तमुलाई जिम्मेवारी दिएको छ ।
साथै, बैठकले संघियाता तथा पहिचान विरोधीहरूको राजनैतिक तथा वैचारिक रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने,सभा तथा सम्मेलन गर्ने र पहिचानसहितको संघीयता प्राप्तिको आन्दोलनमा सक्रियताका साथ सहभागी हुने निर्णय समेत गरेको सचिव तमुले जानकारी दिए।
नेकपा–माओवादीका सचिव देवप्रसाद तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा पार्टीका स्थायी समिति सदस्य वसन्त, पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्याम, केन्द्रीय सदस्य तथा तमुवान राज्य सेक्रेटरी अजित र केन्द्रीय सदस्य धर्मले प्रशिक्षण दिएका थिए।
