रूद्र श्रीसमगर
पोखरा, ३० फागुन – नेपाल मगर महिला सङ्घ कास्कीको सातौं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः फूलकुमारी थापामगर निर्विरोध चयन भएका छन ।
‘सम्पूर्ण मगर महिलाहरू एकजुट होऔं, आफ्नो अधिकार प्राप्तिका लागि अगाडि बढौं’ भन्ने मूल नाराका साथ शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट आगामी दुई बर्से कार्यकालका लागि थापामगर अध्यक्षमा पुनः निर्वाचित भएको हो ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा नुनु रानामगर, उपाध्यक्षमा देवी थापामगर, महासचिवमा चिजाकुमारी रानामगर भएका छन । बाँकी दुई सचिव र कोषाध्यक्ष पदमा पनि कसैको पनि उम्मेदवारी नपरेपछि नवनिर्वाचित समितिको पहिलो बैठकले पदपूर्ति गर्ने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिए ।
त्यस्तै, सदस्यहरूमा तुलमाया थापामगर, पवित्रा थापामगर, आइतीश्री थापामगर, ईश्वरीमाया थापामगर, दुर्गा सारूमगर, लक्ष्मी रानामगर, कला पुनमगर, छुमाकुमारी आलेमगर, नन्दकली थापामगर र बेनी थापामगर निर्विरोध चयन भए ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर महिला सङ्घका महासचिव हिरुसरा रानामगरले देशमा घरेलु हिंसाका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।
बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने र बलात्कार गर्नेजस्ता घरेलु हिंसाका अपराधीलाई निरुत्साहित गर्न कडा कानुनको जरुरत रहेको जनाउँदै महासचिव रानाले बलात्कार गर्नेलाई फाँसीको सजायँ व्यवस्था नभएसम्म बलात्कारका घटना भइरहने बताए ।
‘घरेलु हिंसाका कारण कैयौं महिलाहरूले यातना सहनु परेको छ’, महासचिव रानाले भने, ‘अन्य महिलाहरूसँगै मगर महिलाहरू पनि आर्थिक, सांस्कृतिक र राजनीतिक रूपमा सक्षम र सबल नभएसम्म घरेलु हिंसाकाविरुद्ध लड्न सक्दैनौं ।’ मगर महिलाहरूलाई सचेत, संगठित र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै महासचिव रानाले मगर महिलाहरूले मगर जातिको भाषा, धर्म, संस्कृति र परम्परागत सीपको संरक्षण एवं संवद्र्धनमा प्रमुख भूमिका निभाउन सक्ने उल्लेख गरे ।
राज्यको अग्रगामी पुनर्संरचना गरी मगरात स्वायत्त प्रदेशको सुनिश्चितता हुनुपर्ने भन्दै उहाँले राज्यको नीति निर्माण तहमा मगर महिलाको जातीय जनसंख्या तथा लैगिक आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, संगठन विभाग प्रमुख गुमानसिंह थापामगर, सह–सचिव संगीता पुनमगर, नेपाल मगर महिला सङ्घ कास्कीका सल्लाहकारद्वय इन्दिरा थापामगर र सरस्वती रानामगर, पूर्व अध्यक्ष मनकुमारी पुनमगर, दीप–बगर एकाइ समितिका अध्यक्ष जौमाया थापामगर, मगर भाषा प्रतिष्ठान कास्कीका उपाध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर विद्यार्थी सङ्घ कास्कीका अध्यक्ष नेत्र घर्तीमगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नुनु रानामगरले गरेका थिए भने उपाध्यक्ष कमला पुनमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
