रूद्र श्रीस मगर
पोखरा, २७ फागुन – स्याङ्जाको चिसापानीमा आगामी चैत्र १५ देखि १८ गते सम्म एघारौँ तारासिङ मिलन स्मृति स्मृति कप वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
सुनगाभा युवा क्लव चिसापानी–४, गुर्जाको आयोजना तथा सयथुंगा युवा क्लव जामुने–४ को सह–आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम हुने टीमले ३५ हजार ११, द्वितीय हुने टीमले २० हजार ११ र तृतीय हुने टीमले १० हजार ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्न प्रचारप्रसार संयोजक गोविन्द थापा सिञ्जालीले जानकारी दिए । साथै, सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर र लिफ्टरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । क्लवले प्रतिभावान खेलाडी तारासिङ थापा र मिलन थापाको स्मृतिमा विगत लामो समयदेखि खेल सञ्चालन गर्दै आईरहेको छ ।
स्थानीय प्रतिभावान खेलाडीलाई मलजल गर्दै राष्ट्रिय स्तरसम्म पुर्याउन सफल उक्त प्रतियोगितालाई सफल बनाउन क्लवका कार्यवाहक अध्यक्ष शिशिर रानाको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै क्लवका सल्लाहकार सी.बी थापाको संयोजकत्वमा प्रतिभावान खेलाडी छनौट उपसमिति, डी.बी. सारुको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुमन थापाको संयोजकत्वमा खेल व्यवस्थापन उपसमिति, मीनु थापाको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति र शंकर थापाको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ ।
स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लाबाट करिब ३० टीमको सहभागिता रहने प्रतियोगितामा कुल ४ लाख ३० हजार आम्दानी र ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । खेलबाट प्राप्त आम्दानी स्थानीय विकास निर्माण तथा खेल क्षेत्रमा खर्च गर्न बनाइएको छ ।
विगतमा झैँ यस वर्ष पनि भलिबल खेलमा विशेष योगदान पुर्याएका प्रतिभावान स्थानीय खेलाडीलाई नगद सहित सुनगाभा युवा पुरस्कार २०७१ बाट सम्मान गर्न क्लवले जनाएको छ । विगतका वर्षहरु झैँ यस वर्ष पनि तारासिंङ मिलन स्मृति कप र क्यालेण्डर प्रकाशनका लागि देशविदेशबाट सहयोग आउने क्रम जारी रहेको सुनगाभा युवा क्लवले जनाएको छ ।
