रूद्र श्रीसमगर
पोखरा, २६ फागुन – देशकै दोस्रो ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा नेकपा–माओवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को भेला सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न भेलाले सह–सचिव प्रेम रोकाको संयोजकत्वमा १३ सदस्यीय चौथो जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । अध्यक्ष मिलन राईसहित उपाध्यक्ष काजी गुरुङ र सचिव शिव क्षेत्री नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी)मा गएपछि सह–सचिव रोकाको नेतृत्वमा सम्मेलन आयोजक समिति निर्माण गरिएको हो ।
चौथो जिल्ला सम्मेलन तयारी समितिका सदस्यहरूमा विवेक थापा, शान्ति राम्जाली, गम थापा, जेनिशा पुन, रामबहादुर थापा, श्याम थापा, रामबहादुर रोका, लक्षु रोका, निशा घर्तीमगर, पूर्णबहादुर आले, अपार थापा र रीता श्रीस रहेका छन ।
भेलालाई सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी)का तमुवान तथा पूर्वी मगरात इञ्चार्ज पदम खत्रीले आफूहरू क्रान्तिको तयारीमा जुटेको र विद्यार्थीहरूले त्यसको अगुवाइ गर्नुपर्ने उल्लेख गरे।
नयाँ जनवादी क्रान्तिविना नेपालमा विद्यमान उत्पीडनहरूको अन्त्य नहुने भन्दै विद्यार्थी नेता खत्रीले शैक्षिक क्षेत्रका समस्याहरूको समाधानका लागि अखिल (क्रान्तिकारी)मा गोलबन्द हुन आवान समेत गरे । जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई लागू गर्न आवश्यक सांगठनिक तयारीका लागि आफूहरू जुटेको भन्दै खत्रीले विद्यार्थीहरू आवश्यक परे जस्तोसुकै बलिदानीका निम्ति पनि तयार रहेको दाबी गरे ।
भेलामा क्रान्तिकारी पत्रकार महासंघ नेपाल, कास्कीका संयोजक रूद्रबहादुर श्रीसले पनि बोलेका थिए ।
