निश्चल काउचा
१० मार्च २०१५, कोरिया
गत आईतबार सोल स्थित नेपाल हाउसमा वोमन फर वोमनको आयोजनामा १०५ औ अन्तराष्ट्रिय महिला दिवस मनाउन उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महिला हक हित र अधिकारको तात-तातो बहस गरिरहदा छुन्जु सामसङ् स्थित टनेल हाउसमा कास्कीकी साधना अधिकारी (२६) नाम परिवर्तन च्याउ काट्दै थिइन् भने पर्वत जिल्ला उराम गा. बि. सकी सुनिता थापा बुसानको” पुसान नेसनल युनिभर्सिटी यङ्सान हस्पिटल ” मा मृत्युसंग लडिरहेकी छिन ।
नारी दिवस अमेरिकाको एउटा गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरुले ८ घण्टा कामको माग राखी गरेको आमहड्तालको सम्झनामा सन् १९०९ को मार्च ८ तारिक देखी संसार भरि मनाउन थालिएको हो । आफ्नो देश सम्बृद्धशाली हुदो त को पो पराई भुमीमा रगत पसिना बगाउन आउथ्यो होला । कोरिया १२ देखी १४ घण्टा काम गर्नु पर्ने देश भएकोले पनि होला महिला दिवसको अवसरमा नेपाल हाउसमा महिला दिदी बहिनीहरुको उपस्थिति न्युन देखिन्थ्यो । पक्कै पनि कति जना दिदी बहिनीहरु साग टिप्दै हुनुहुन्थ्यो होला कति जना च्याउ कात्दै हुनुहुन्थ्यो होला । कति जना फलाम र केमिकल मिस्रित कारखानामा काम गर्दै हुनुहुन्थ्यो होला त कति जना चेलीहरु पैसा कमाएर उज्जल भविष्य बनाउने सपना बुन्दै कोरियन नागरिकसँग विवाह गरेर आए पछि जिउ भरि चुरोटले पोलेका घाऊहरु लिएर कोरियाको चिसो स्याठमा पनि मन जलाउदै आफ्नै भाग्यलाई धिक्कार्दै हुनुहुन्थ्यो होला ।
नेपाल हाउसको कार्यक्रममा उपस्थित बक्ताहरुले नेपालका यो पार्टीले महिलालाई यति प्रतिसत स्थान दियो । त्यो पार्टीले त्यती प्रतिसत स्थान दियो भन्न भ्याए । भारतमा बलत्कारीलाई मृत्युदण्ड दिएको सुनाए । त्यो देशको महिला प्रधानमन्त्री भयो । यो देशको राष्ट्रपती भयो भन्न भ्याए । उपस्थित सबैले महिलालाई हक , अधिकार दिनु पर्छ र सुनिस्चित गरिनु पर्छ भन्दै ठुलो-ठुलो स्वरमा भाषण गरे । महिला हिंसा मुक्त समाजको परीकल्पना गरे तर आफ्नै आङ्को भैंसी नदेख्ने अरुको कपाल भित्रको जुम्रा देख्ने भने झै महिला दिवसकै अवसरमा टनेल हाउसमा महिनाको ३० दिन काम गर्दा पनि तलब समयमा नपाएका दिदी बहिनीको ब्यथाहरु , कोरियन नागरिकसँग विवाह गरेर आए पछि जिउ भरि चुरोटले पोलिन वाध्य चेलीका कथाहरु कसैले सुनाउन भ्याएनन ,उनीहरुको कथा व्यथा सुनाएको भए र सुनिएको भए महिला दिवस मनाउनुको सार्थकता अझ धेरै झल्कन्थ्यो कि ?
यद्धपी प्रदेशी भुमीमा बसेर पनि नेपाली महिला दिदी बहिनीहरु मिली संस्था गठन गरेर महिलाको लागि महिला नारा दिदै एकता र भाईचाराको माला गास्नु पनि ठुलो कुरा हो त्यस माथि आपत बिपत परेका चेलीहरुको बस्नको ब्यबस्था गर्नु र दु:ख मा परेका चेलीहरु दु:ख बिसाउने चौतारीको काम गर्ने वोमन फर वोमनको कार्य सह्रानीय त छदै छ् मानविय कार्य पनि हो ।