देब पचभैया
पाल्पा, फागुन २२ – २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह हिडेको भूमिमा नेपाली कांग्रेसले राखेको पैदलयात्राका सहभागीलाई सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको राम्दीमा भव्य स्वागत गरिएको छ । पैदलयात्रामा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत कांग्रेसका नेता तथा कार्यकर्तालाई शुक्रबार बिहान स्वागत गरेको हो ।
कांग्रेस उपसभापति पौडेल राम्दीमा आयोजित ज्ञान महायज्ञमासमेत सहभागी बनेका थिए । राम्दीमा आयोजित कार्यक्रममा कांग्रेसका जिल्लाका नेता कार्यकर्तासंग अन्र्तक्रिया गरे । गणेशमान सिंहको जन्मशताब्दीको अवसर पारेर ‘गण्शेमान अभियान’ अन्तर्गत उहाँ हिडेको क्षेत्रमा पैदलयात्रा गरेको नेता पौडेलले बताए । उनले अहिलेको अवस्थालाई शान्ति पूर्ण ढंगबाट अवतरण गर्नकालागि पैदलयात्रा कार्यक्रम राखेको बताए । नेता पौडेलले संघियतालगायतका विभिन्न विषयमा भएका असहमतिलाई सहमतिमा लगेर छिटो भन्दा छिटो संविधान दिनुपर्ने अवस्था आएकोसमेत बताए । उनले जनताले विकास र मुलुकले निकास चाहेको अवस्थामा गरेको पैदलयात्राले युगपुरुषलाईसम्झाउने बताए ।
निष्ठाको राजनीति र दृढता, विश्वासपात्र बनेर राजनीति गर्नुपर्ने अवस्था आएको बताउदै यस्तो अवस्थामा सिंहको जिवनीलाई पुनःस्मरण गर्नुपर्ने भएको समेत बताए । कांग्रेस केन्द्रिय सदस्य राजनप्रसाद पन्तले राम्दीमा आयोजित सभामा सम्बोधन गर्दै जनताले अहिलेको अवस्थाबाट निकास चाहेको बताए । उनले विर गणेशमान जस्तो त्यागी नेता बनेर देखाउन नसकिएकोसमेत बताए ।
बुधबार र बिहिबार स्याङ्जाका विभिन्न स्थानमा कार्यक्रम सकेर शुक्रबार बिहान पैदलयात्राको टोली पाल्पा जिल्ला प्रवेश गरेको थियो । पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा टोलीलाई कांग्रेस जिल्ला सभापति बिरबहादुर रानालगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । झण्डा र गणेशमानको तस्विर हस्तान्तरण गर्दै स्याङ्जाका कांग्रेस सभापति तथा सभासद् कमल पंगेनीले जनतालाई गणेशमानको जिवनी पढेर सोही अनुसारको सम्मान प्रकट गर्नुपर्ने बेला आएको बताए । उनले आफ्नो जिल्लामा चैत महिनाभर गणेशमानको जिवनी र महिमालाई फैलाउने अभियान सञ्चालन गर्नेसमेत बताए ।
सिंहको जन्मशताब्दीका अवसरमा राखिएको पैदलयात्रा अन्तर्गत जिल्लाका विभिन्न स्थानमा जिल्ला र गाउँ कमिटिले कार्यक्रम राखेका छन् । राम्दीदेखि पैदलयात्रा गरेर राजमार्गकै आर्यभन्ज्याङ्मा चियापान, अन्तक्र्रियाको कार्यक्रम भएको थियो । तानसेनमा शुक्रबार बास बसेर बिहानै पैदल टोली रुपन्देहीकालागि हिड्ने जिल्ला सभापति रानाले बताए । डुम्रे, दोभानको झुम्सामा कार्यक्रम सकाएपछि रुपन्देहीको सिमाना दोभानबाट बिदाई गरिनेछ । अभियानमा कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ्, कृष्ण चन्द्र नेपाली, गोविन्द भट्टराईलगायत कांग्रेसका नेता तथा कार्यकर्ता साथै गणेशमानसिंहका नातिकोसमेत सहभागिता रहेको छ ।
‘राणा हटाउ’ अभियानमा लागेको भन्दै गणेशमानलाई १९९७ सालमा भद्रगोल जेलमा थुनामा राखिएको थियो । सोही जेल तोडेर भाग्ने क्रममा कास्की, स्याङ्जा हुँदै पाल्पाबाट हिडेर रुपन्देहीबाट भारतको गोरखपुर पुगेका थिए । मुलुक अत्यन्तै संकट भएका बेला मुलुकलाई प्रजातन्त्रको उदय गराउन आफ्नो जीवन आहुति दिनुभएका सर्वोच्च कमाण्डर सिंहको सम्झनामा पैदलयात्रा भएको कांग्रेसका महासमिति सदस्य यमलाल तिमिल्सेनाले बताए ।
