नेकपा–माओवादी कास्कीद्वारा सहिद स्मृति आवासीय माविलाई शैक्षिक सामग्री वितरण

Read Time:4 Minute, 0 Second

सम्झौताहीन संघर्षको विकल्प छैन : अजित

रूद्र श्रीसमगर
पोखरा, २० फागुन

नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’ले अब नेपालमा सम्झौताहीन संघर्षको विकल्प नभएको बताएका छन । नेकपा–माओवादी कास्कीद्वारा बुधबार आयोजित पोखरा–१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय माविलाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता अजितले आफूहरू सम्झौताहीन संघर्षको बाटोमा अघि बढेको बताए ।‘निरन्तर क्रान्तिको बाटो सही हो’, उनले भने ‘कुरा वर्गसंघर्षको गर्ने तर भविष्य वर्ग समन्वयको देख्ने कुरा सुहाउँदैन ।’ निरन्तर क्रान्तिको बाटोमा आफूहरू प्रतिबद्ध रहेको दाबी गर्दै नेता अजितले सहिदहरूले देखाएको बाटो आफूहरूले कहिल्यै नछाड्ने प्रतिबद्धता समेत जनाए ।

‘अहिले सहिदहरूको बलिदानलाई, जनयुद्धलाई अपमान गर्ने काम भएको छ’, उनले थपे ‘सहिदहरूको बलिदान र जनयुद्धलाई भूतकाल बनाउने दुष्प्रयास हुँदैछ ।’ वर्गसंघर्षले बलिदान माग्ने बताउँदै नेता अजितले आवश्यक परे आफूहरू फेरि बलिदान गर्न तयार भएको दाबी समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेता अजितले पार्टीको तर्फबाट कापी, कलमसहितका शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई हस्तान्तरण गरे । विद्यालयको तर्फबाट शैक्षिक सामग्री ग्रहण गर्दै प्रधानाध्यापक गिरीले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताइन ।

कास्की जिल्ला सेक्रेटरी अर्जुन छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सेक्रेटरी सूर्यबहादुर खड्का ‘आलोक’ले गरेका थिए । कार्यक्रममा पार्टीसम्बद्ध विभिन्न जनवर्गीय संगठन तथा मोर्चाका जिल्लास्तरीय नेताहरूको समेत उपस्थिति रहेको थियो ।

२०६६ सालमा स्थापित सो विद्यालयमा हाल दश बर्से जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूका छोराछोरीहरू अध्ययन गर्छन् । हाल २७० जना विद्यार्थी रहेको सो विद्यालय कक्षा १० सम्म सञ्चालित छ । निकट भविष्यमै उच्च मावि सञ्चालन गर्ने तयारी रहेको विद्यालयका प्रधानाध्यापक मोना गिरीले जानकारी दिए ।

नेकपा–माओवादी कास्कीले पार्टीद्वारा घोषित मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत हरेक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म मनाइँदै आएको सहिद सप्ताह अन्तर्गत विद्यालयलाई सो शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । यो वर्ष एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादी र नेकपा माओवादीसहित तीन माओवादीले सो विद्यालयलाई आ–आफ्नै तरिकाले छुट्टाछुट्टै कार्यक्रम गरी शैक्षिक तथा खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %