प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

दिपा आलेमगर

काठमाडौं, फागुन १७ – फागुन १५ अर्थात मगर दिवसको अवसर पारेर काठमाडौंमा १५ गते देखि सुरु भएकोे मगर अन्तराष्ट्रिय मन्चको प्रथम सम्मेलन आईतबार भब्य रुपमा सम्पन्न भएको छ ।

उक्त प्रथम सम्मेलनले ९ कार्यसमिति सदस्यीय रहने गरी युके मगर संघका प्रतिनिधि थर्क रानामगरलाई संयोजकमा चयन गरेको हो ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा अमेरिका मगर संघका प्रतिनिधि मान रानामगर, हङकङ मगर संघका प्रतिनिधि भोलानाथ थापामगर, प्रवासी मगर संघ मलेसियाका प्रतिनिधि राजेन्द्र रानामगर, साउदी अरेविया मगर संघका प्रतिनिधि हुम सुनारी मगर, युएई मगर संघका प्रतिनिधि गिरमान थापामगर, नेपाल मगर संघ केन्द्रिय समितिका विदेश सचिव रक्षाबहादुर रैकामगर चयन भएका हुन् । दुई जना सदस्यहरुलाई पछि चयन गरिने मञ्चले निर्णय गरेको छ ।

३ दिन सम्म सञ्चालन भएको उक्त सम्मेलनको उद्घाटन टुडिखेलमा भएको थियो भने २ दिन बन्दसत्र बाघ बजारमा भएको हो । कार्यक्रमको उद्घाटन सत्र गृहमन्त्री बामदेव गौतमले गरेका थिए । प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनलाई सफल पार्नकालागि जापान, अमेरिका, दोहा –कतार,मलेसिया, यु.ए.इ, बहराइन, साउदी अरब, दक्षिण कोरिया, इजरायल, हङकङ लगायतका देशहरबाट मगरहरूको सहभागिता रहेको थियो ।

दुई दिन सम्म सञ्चालन भएको बन्द सत्रमा देश विदेशबाट सहभागी प्रतिनिधिहरु अमेरिका मगर संघका महासचिव मान रानामगर, प्रवासी मगर संघ दोहा –कतारका अध्यक्ष शरण पिठाकोटेमगर, प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र रानामगर, यु.ए.इ लालबहादुर ढेगामगर, बहराइन प्रतिनिधि प्रेम थापामगर, विष्णु रोका मगर, साउदी अरबका प्रतिनिधि  हुम सुनारी मगर, दक्षिण कोरिया कमल थापामगर, हङकङका प्रतिनिधि भोलानाथ थापामगर, जापान मगर संघका प्रतिनिधि गंगा घर्तिमगर, इजराइल प्रतिनिधि लता पुनमगर, युके मगर संघका सल्लाहकार शान्ति थापामगर लगायतले आ – आफ्ना भनाई राखेका थिए ।

सम्मेलनमा विदेशबाट प्रतिनिधि र नेपाल बाट नेपाल मगर संघ र मगर संघका भातृ संगठनका प्रतिनिधिहरु प्रर्वक्षकको रुपमा सहभागी थिए । प्रवेक्षकको तर्फबाट मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगरले अन्तर्राष्ट्रिय मगर मञ्चमा ३३ प्रतिशत मगर महिलाहरु समावेशी हुनु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघका पूर्व अध्यक्ष यमबहादुर बुढाथोकीमगर, पूर्व अध्यक्ष झक बहादुर थापामगर, राष्ट्रिय मगर संघका प्रतिनिधि राजकुमार थापामगर, लोकतान्त्रीक मगरका प्रतिनिधि भोजविक्रम बुढामगर लगायतले आ -आफ्ना धारणा ब्यक्त गरेका थिए । 

उक्त सम्मेलनले ९ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

१. निरंकुश जहांनिया राणा शासनको विरुद्धमा उठेको प्रजातान्त्रिक आन्दोलनको दौरानमा वि.सं. १९३३ फागुन २ गतेका दिन सहादत प्राप्त प्रथम सहिद कप्तान लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गरी राष्ट्रिय विभूतिको सम्मानले विभूषित गर्दै उक्त दिन सार्वजनिक विदा घोषणा गरिनु पर्दछ ।  

२. मगर समुदायको भाषा, लिपि,भेषभुषा, धर्म, संस्कृति तथा इतिहासको संरक्षण, सम्बद्र्धन, राष्टिय संग्राहलय, पुस्तकालय तथा आदिबासी जनजाति विश्व विद्यालयको अविलम्ब ब्यवस्था गर्नुपर्दछ ।

३. संयुक्त राष्ट्र संघको आदिबासी जनजाति अधिकार सम्बन्धी घोषणा पत्र (युएनडिरिप) र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ लाई तत्काल सरकारले कार्यान्वयन गर्नु पर्दछ । 

 

४.नयाँ बन्ने संविधानमा मगर समुदाय लगायत अन्य जात जातिको उच्चतम मानवअधिकारको बहाली, धर्म निरपेक्षता, बहुसांस्कृतिक, बहुभाषिक, समानाअधिकार नीति, राज्यको हरेक अंग र तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व पहुंच, शिक्षा, स्वास्थ्य, रोजगार र राजनैतिक तहमा सम्मान अवसर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र मगर जाती भित्र विद्यमान प्रथाजन्य कानुन जस्ता महत्वपूर्ण विषयहरुलाई अनिवार्य रुपमा समावेश तथा वैधता प्रदान गरिनु पर्दछ ।

५.संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघीय संरचनामा समाजिक तथा राजनैतिक अग्राधिकार, आत्मनिर्णयको अधिकार सहितको जातीय पहिचानको आधारमा मगरात स्वायत्त प्रदेश नयाँ बन्ने संविधानमा सुनिश्चित गरिनु पर्दछ ।

६.आदिबासी जनजाति समुदायका संघ, संस्था लगायत सम्पूर्ण उत्पीडित समुदायद्वारा न्यायोचित अधिकार प्राप्तीका लागि सञ्चालित रहेका सम्पूर्ण न्यायपूर्ण आन्दोलन प्रति मगर समुदायको सर्मथन तथा सहभागीता रहनेछ र यस प्रकारका हरेक अधिकार मुखि आन्दोलनको पक्षमा साथ दिन सबैमा हार्दिक अपिल गर्दछौ ।

७.विदेशमा रहेका सबै प्रवासी नेपाली नागरिकहरुले बालिक मताधिकारका आधारमा सम्बन्धीत स्थानबाटै मतदान गर्न पाउनु पर्दछ ।  

८.आप्रवासी नेपाली समुदायको न्यायपूर्ण मागहरुमा ऐक्यबद्धता जाहेर गर्दछ ।

९.नेपाललमा संचालित राष्ट्रिय स्वाधिनता र राष्ट्रिय मुक्ति आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्ने  सम्मेलनको अन्तिम चरणमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले शुभकामना सहित बधाई ज्ञापन गरेका थिए । सम्मेलनको कार्यविधि संघका विदेश सचिव रक्षा रैकामगरले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव ज्ञानेन्द्र पुनमगरले गरेको हो ।

फागुन १५ मगर दिवसकै दिन चिन्डीके डुप्के सांस्कृतिक पर्वलाई पनि भब्यताका साथ मगर समुदायले मनाएका थिए ।


पुरा फोटो हेर्न यो लिङक थिच्नुहोस । Deepa Ale
 मगर अन्तर्राष्ट्रिय मन्चको प्रथम सम्मेलन.