क्याक्मीमा ३३ औं मगर दिवस तथा मगर भाषा–लिपि प्रशिक्षण समापन

Read Time:4 Minute, 42 Second

रूद्र श्रीसमगर
पोखरा, १६ फागुन
स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा ३३ औं मगर दिवस तथा पाँच दिने मगर भाषा–लिपि प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल मगर सङ्घ क्याक्मी गाउँ एकाइ समिति, स्याङ्जाको आयोजनामा सोमबारदेखि सुरु भएको पाँच दिने मगर भाषा–लिपि प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको हो ।

प्रशिक्षण समापन तथा ३३ औं मगर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै क्याक्मी गाविसका सह–सचिव हुमबहादुर थापामगरले मगरहरू एक भएर अघि बढ्ने बेला आएको बताए ।

‘जबसम्म मगरहरूमा राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक चेतना विकसित हुन्न, तबसम्म मगर जातिको समृद्धि हुन सक्दैन’, थापामगरले भने ‘अब क्याक्मेली मगरहरूले एकजुट भएर अधिकार र पहिचानका लागि लड्न तयार रहनुपर्छ, अरू ठाउँका निम्ति समेत उदाहरण बन्नुपर्छ ।’उनले थपे ।

पाँच दिने मगर भाषा–लिपि प्रशिक्षणका मुख्य प्रशिक्षक एवं नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मगर जातिको प्रमुख पहिचान भनेकै भाषा र लिपि भएको भन्दै आफ्नो भाषा तथा लिपिका बारेमा सबै मगरहरू जानकार हुनुपर्ने आवश्यकता औलाए ।

राज्यको दमनका कारण थुप्रै मगरहरूले आफ्नो भाषा र लिपि बिर्सँदै गएको भन्दै प्रशिक्षक श्रीसमगरले राज्यको विभेदकारी नीतिका विरुद्ध सबै मगरसहित आदिवासी जनजातिहरू जुर्मुराउने बेला आएको बताए ।

अर्का सह–प्रशिक्षक एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका राष्ट्रिय सदस्य विवेक थापामगरले मगर जातिको आदिभूमि मगरात स्थापनाका लागि सबै मगरहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै अधिकार प्राप्तिका लागि उठ्न ढिलो भइसकेको र अब संघर्षका लागि ढिलो गर्न नहुनेमा जोड दिए ।

३३ औं मगर दिवस समारोहलाई नेपाल मगर सङ्घ क्याक्मी गाउँ एकाइ समिति, स्याङ्जाका सल्लाहकार इन्द्रकुमार थापामगर, नेपाल मगर महिला सङ्घ क्याक्मी गाउँ एकाइ समितिका अध्यक्ष यामकुमारी आलेमगर, क्याक्मी गाविसका पूर्व अध्यक्ष एवं मानन्धर समाज, नेपालका केन्द्रीय अध्यक्ष देवकुमार मानन्धर, नेपाल मगर सङ्घ तनहुँ क्षेत्र नं. ३ का उपाध्यक्ष एवं मगर पुरोहित (वापा) किसान अस्लामीमगर, नेपाल मगर बौद्ध सेवा समाजका वापा भुवन थापामगर, समितिका सल्लाहकार नरबहादुर थापामगर, निवर्तमान अध्यक्ष नेत्रबहादुर आलेमगर, सल्लाहकार नन्दकुमार थापामगर, मुक्तबहादुर रानामगरलगायतले आफ्नो अधिकार प्राप्तिका लागि सम्पूर्ण मगरहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रशिक्षकद्वय रूद्रबहादुर श्रीसमगर र विवेक थापामगरलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो । त्यस्तै, सो अवसरमा स्थानीय गायिका केशमाया थापामगर, सम्झना रानामगरले गीत प्रस्तुत गरेका थिए भने लक्ष्मी रानामगर, स·ीता रानामगर, सिर्जना आलेमगरलगायतले नृत्य प्रस्तुत गरेका थिए साथै मगर जातिको लोकप्रिय नाच कौह्रा समेत प्रस्तुत गरिएको थियो ।

गाउँ एकाइ समितिका अध्यक्ष मनबहादुर सारूमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर आलेमगरले थिए भने स्वागत मन्तव्य सल्लाहकार एवं पोखरीभञ्ज्याङ निमाविका प्रधानाध्यापक भरत थापामगरले व्यक्त गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %