देब पचभैया
पाल्पा, फागुन १६ – लायन्स क्लब इन्टरनेश्नल ३२५ बीटु नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।
बैठकको उद्घाटन गर्दै एरिया कोर्डिनेटर तथा पूर्व गभर्नर सन्जय खेतानले आफूहरुले नेपाल तथा विभिन्न देशमा सामाजिक रुपमा काम गर्दै आएको र आगमी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । उनले अहिले आँखाको ज्योति गुमाएका अन्य विभिन्न समाजिक क्षेत्रमा लायन्स क्लबले सहयोग गर्दै आएको बताए । उद्घाटन कार्यक्रममा पाल्पाका प्रमूख जिल्ला अधिकारी विष्णुकमार कार्की, क्लबमा निवर्तमान अध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले शुभकामना दिएका थिए । क्लबको बैठकमा देशभरिबाट सात सय जना प्रतिनिधि सहभागी थिए ।
बैठकले भरतपुर क्यान्सर अस्पतालमा बिरामीका लागि करिब डेढ करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपालको विभिन्न स्थानमा भौगोलिक विकटता, आर्थिक रुपमा विपन्न, आँखाका रोगीहरूलाई सहयोग तथा त्यस्ता रोगीहरूलाई फाइदा पुग्ने गरेर शिविर क्लबले संचालन गर्दै आएको छ ।
