गोविन्द घर्ती
रुपन्देही फागुन १४ – नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा ३३औं मगर स्थापना दिवस (फागुन–१५) को अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम मणिग्राममा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले मगरहरुको पहिचान भनेको भाषा, संस्कार, संस्कृति भएकोले यसको संरक्षण र सम्वर्द्धन गर्न सम्पूर्ण मगरहरु एक जुटभएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजको विकास, परिवर्तनमा मगरहरुको अह्म योग्दान रहेको बताएका थिए । सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले श्रोत साधनको अभावक रहेका कारण नागरिकको काम छिटोछरितो गर्न नसकिएको बताए । त्यसैगरी बुटवल तालिम केन्द्रका एस एस पी योगेश्वर रुमखानी मगरले राष्ट्रको विकास विना कुनै पनि जातीको विकास हुन नसक्ने भएकोल राष्ट्र र समाजको विकासको कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व केन्द्रीय सदस्य केशव सूर्यवंशी, संघका सल्लाहकार खेमेन्द्र राना लगायतले बोल्दै मगर स्थापना दिवसलाई रचनात्मक र सामाजिक परिवर्तनको रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।
संघका उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पुनको संचालनमा भएको कार्यक्रममा सरकारी कार्यालय प्रमुख, सञ्चारकर्मी, डाक्टर, प्रोफेसर, सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
