देब पचभैया
पाल्पा, फागुन १२
पाल्पामा महिला हिंसाका उजुरी बढीरहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संकलन गरेको तथ्यांक अनुसार अघिल्लो वर्षमा ४७ जना महिलाहरुले उजुरी दिएकोमा सन् २०१४ को अवधिमा घरेलु हिंसाका कारण पीडित भएको भन्दै ९३ जना महिलाले जिल्ला प्रहरी कार्यालय अन्तरगतको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् ।
जसमध्ये मादकपदार्थ सेवन गरि कुटपिट गरि घर निकाला गरेको, शारिरीक तथा मानसिक यातना दिएको, खान लाउन नदिएका ८३ वटा उजुरी रहेका छन् । यी मध्ये ५ वटा निबेदन उपर सार्वजनिक मुद्धा चलाइएको छ । त्यस्तै ३ जना महिलाको कोही पनि साहारा नभएकोले ओरेक सेवा केन्द्र बुटवलमा पठाएको छ ।
त्यस्तै अर्कै पत्नी ल्याएर हेला गरेकोमा १० वटा उजुरी परेका छन् । यी १० वटै उजुरीमा बहुबिबाहको मुद्धा चलाइएको छ । इन्सेकका पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार एक वर्षको अवधिमा पाल्पामा ६३ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेहरुमा १८ देखि ४० उमेरसमूहका ब्यक्तिहरु बढी रहेका छन् । त्यस्तै १ वर्षमा पाल्पामा बिस्फोटक पदार्थका २ वटा मुद्धा दर्ता भएका छन् ।
