देब पचभैया
पाल्पा, फागुन १२ – जिल्ला विकास समिति पाल्पाको आयोजनामा एकिकृत योजना तर्जुमा समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकमा गाउँ देखि इलाका स्तरीय परिषद र विभिन्न विषयगत समितिबाट अनुमोदन भएर आएका योजनाहरुका बारेमा छलफल भएको थियो ।
बैठकमा सहभागिहरुले तल्लो तहबाट प्रक्रिया पुरा गरेर पठाइएको योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । यस्तै तय गरेका योजना र वजेटको सही सदुपयोग गर्नुपर्ने समेत बताएका थिए । बैठकमा प्रमुख अतिथि संविधान सभाका सदस्य हरीप्रसाद नेपालले योजना अनुरुप परेको वजेटको राम्रो सँग उपयोग गरेर पाल्पालाई नमुनाको रुपमा चित्रित गर्नुपर्नेमा जोड दिए ।
योजना तर्जुमा गर्ने कार्यमा पहिलो हुने पाल्पा कार्यान्वयन तहमा भने पछी रहेको उहाँको भनाई छ । यस्तै बैठकमा सहभागी राजनितिक दलका प्रतिनिधीहरुले आवश्यकतालाई मध्यनजर गरेर वजेटको प्रयोग गर्नुपर्ने बताएका थिए । उनिहरुले केहि कार्यालयका कर्मचारीहरुले आफ्नै तरिकाले अनावश्यक ठाउँमाम वजेट लैजाने गरेको भन्दै जनताको आवश्यकतालाई ख्याल गरी योजना तथा वजेट लैजान उनिहरुले सुझाव दिएको थिए ।
उनिहरुले सबै सरोकारवाला निकायसँग समन्वय तथा सल्लाह लिएर मात्र योजना तर्जुमा गरी परिषदमा लैजानु पर्ने माग गरेका थिए । बैठकमा उद्योग तथा वन वातावरण समिति, सामाजिक समिति, कृषि समिति, पूर्वाधार समिति अन्तर्गतका कार्यालयहरुले योजना तथा वजेट पेश गरेका थिए ।
स्थानीय विकास अधिकारी कृष्ण पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला स्थीत विभिन्न राजनितिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । जिल्ला विकास समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले स्वागत गर्दै कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत विनोद नेपालले गरेका थिए ।
