लोक सेवा उत्तीर्ण गर्न पूरानो सोंचमा परिवर्तन आवश्यक : गौचन
रूद्र श्रीसमगर
पोखरा, ९ फागुन – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहयोगमा मगर भाषा प्रतिष्ठान कास्की शाखाद्वारा आदिवासी जनजातिहरूका लागि सञ्चालित ७० कक्षाको निःशुल्क लोकसेवा आयोग ना.सु. तयारी कक्षाको शनिबार समापन गरिएको छ ।
ना.सु. तयारी कक्षाको समापन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारिणी सदस्य जुनु गौचनले लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुन आदिवासी जनजातिहरूले पूरानो सोंचमा बदलाव ल्याउन जरुरी रहेको बताए ।
निरन्तर प्रयास जारी राख्न सके मात्र लोक सेवाको परीक्षा उत्तीर्ण गर्न सक्ने सुझाउँदै गौचनले आदिवासी जनजातिहरूमा निजामती सेवाप्रति चासो बढाउन आफूहरूले योजना बनाएको बताए । लक्ष्य प्राप्तिका लागि अघि बढ्न र मेहेनत गर्न प्रशिक्षार्थीहरूलाई सुझाव दिँदै गौचनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।
लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय निर्देशक विश्वप्रकाश सुवेदीले लोक सेवा आयोग कोही कसैप्रति पनि पूर्वाग्रही हुन नसक्ने बताउँदै प्रश्नपत्र जाँच गर्दा निर्मम भएर गरिने बताए ।
‘कसैलाई काखा, कसैलाई पाखा गर्ने हाम्रो कुनै उद्देश्य छैन’, सुवेदीले भने, ‘लोक सेवा आयोग निर्मम छ, कसैलाई दया माया गर्न जान्दैन ।’ निष्पक्ष रूपमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुने बताउँदै सुवेदीले प्रशिक्षार्थीहरूलाई पढ्ने संस्कृति बसाउन आग्रह गरे ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य–सचिव एवं मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले आदिवासी जनजातिहरूका लागि सञ्चालन गरिएको कक्षा पहिलोपटक भएपनि अत्यन्त सफल रहेको भन्दै आफू हर्षित र गर्वित भएको बताए ।
आदिवासी जनजाति समुदायमा पठन संस्कृतिको कमी रहेको भन्दै थापामगरले परिश्रम र मेहेनत गरे निजामती सेवामा प्रवेश गर्न सहज रहेको उल्लेख गरे । निजामती सेवा पनि अहिलेको अवस्थामा आकर्षक पेशा बनेको भन्दै थापामगरले पूरानो मानसिकता परिवर्तन भए मात्र निजामती सेवा प्रवेशको ढोका खुल्ने बताए ।
जिल्ला शिक्षा कार्यालय, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापामगरले कडा परिश्रम नगरेसम्म लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुन मुस्किल रहेको भन्दै प्रशिक्षार्थीहरूलाई एकाग्र भएर अध्ययन गर्न सुझाए ।
समापन कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति, कास्कीका उपाध्यक्ष अशोककुमार भट्टचन, जिल्ला विकास समिति कास्कीका मीना पौडेल, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, पञ्चकोशी आर्थरडाँडाखर्क समाजका अध्यक्ष क्या. लालप्रसाद गुरुङ, प्रशिक्षक एवं सहजकर्ता गिरधारी सुवेदी, प्रशिक्षार्थीहरूको तर्फबाट दीपककुमार बरम्लेमगर, रामबहादुर थापामगर र रुक्मिणी गुरुङलगायतले बोलेका थिए ।
मगर भाषा प्रतिष्ठान कास्की शाखाका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ना.सु. तयारी कक्षा सम्पन्न गर्न महत्वपूण सहयोग पुर्याएको भन्दै लोकबहादुर थापामगर, प्रमिला थापामगर, सुब्बा मगर, नेपाल मगर सङ्घ कास्की तथा पञ्चकोशी आर्थरडाँडाखर्क समाजलाई सम्मान समेत गरिएको थियो ।
