बाँकेमा श्रमजिवि पत्रकार महिलाहरु पलायन हुँदै

Read Time:19 Minute, 23 Second

सम्बन्धीत निकाय मौन ,समयमै साश फेरोस ।

दीपा आले/नेपालगन्ज

 

कुनै बेला लहर थियो । कसैलाई रहर थियो । समयको माग थियो र त, त्यो बाक्लो जमात थियो । तर आज समयले कोल्टो फेरेछ । न त लहर छ  । न रहर छ । न त जिम्मेवारी नै महसुस भएको छ । जसले गर्दा हिजोको त्यो बड्दो, उर्लिदो, लोभलाग्दो त्यो जमातको संख्या घटदो अवस्थामा आफ्नै आँखाले देख्नु र सुन्नु परयो । १ वर्षको अवधिमा काठमाडौबाट जब म आफ्नै जन्मभूमि नेपालगन्ज आँए । त्यो जमातको भेललाई खोज्दै गर्दा । बुझ्दै गर्दा । एक एक गरी हराउंदै गएको खबर पाँए । बडो दुःख लाग्यो । लामो सास ताने…. । के यही हो त हामीले हिजोको दिनमा मरी मरी रगतको भेल बगाउंदाको मुल्य । एकछिन सोची रहे । चिन्तन गरे । मनन गरे । फेरी हिजोको त्यो समाजलाई बुझ्ने प्रयास गरे । के रहेछ त बास्तविक चुरो कुरो । बुझ्दै  जाँदा कसैलाई हराउने खेल खेलियो । जिम्मेवारीबाट बञ्चित गराइयो । चरित्रमाथि दाग लगाइयो । पारिश्रमिक नदिई लैङ्गिक हिंसा गरिएको अवस्थाका बारेमा बुझियो । त्यति मात्र होइन संरक्षणकर्ता भनौ या आफूहरुलाई ठूलो भन्न मन पराउनेबाट संरक्षण र टिकी राख्ने बाटो नपाएपछि विस्तारै कमजोर मुटु भएका पत्रकार महिला पत्रकारिता क्षेत्रबाट संघर्ष गर्न नसकेर पलायन हुन बाध्य भएका रहेछन् ।

 विगतलाई एकपटक फेरी सम्झन बाध्यछु । त्यो विगत जसले हाम्रो इतिहास कोर्दैछ । त्यो विगतलाई स्मरण गर्दैछु । त्यो बेलाको हाम्रो कार्यशैलीलाई म नसम्झी रहन सक्दैन । नेपालगन्जको तातो घामपनि चिसो अनुभव हुन्थ्यो । बैशाख जेठको त्यो तातो घामको कुनै असर हुँदैन थियो हाम्रो जमातलाई । त्यसरी त्यो जमातले सँर्घर्षपूर्ण पत्रकारिता गर्दै अघि बढीरहेको थियो । समाजलाई परिवर्तन गर्न आफू जलेर भएरपनि अरुलाई उज्यालो दिने काम गर्दै थियो । एउटा उत्साह र उमंग थियो । जोश जाँगर थियो । बाटामा हामीलाई हेर्नेहरुले पनि हाम्रो कामको तारिफ नगरी सुक्कै पाउदैन्थ्यो । समाजले स्याबासी नदिएको दिनै हुंदैन थियो । किन कि हामीले समाजकोलागि कति दिन भोको पेट लिएर फिल्डमा उत्र्रिका थियौ । भोको पेट मात्र होइन गरिब निमुखाको न्यायकालागि आवाज उठाउदै गर्दा रगतको भेल बगाएका थियौं । आँशु बगाएका थियौं । लगानी लगाएका थियौ । बाँके, बर्दिया, सुर्खेत, दाँग मात्र होइन देशकै लागि ठूलो योगदान पुराएका थियौ । ति दिनहरु सम्झीरहेको छु । के दियो त विगतले ? के सिकायो विगतले ? किन लामो समय पत्रकारिता क्षेत्रमा योगदान पुरयाउदा पुराउदै पत्रकार महिलाहरु दिनदिनै पयालन हुन बाध्यछन् ? कतिले सोच्यो होला पत्रकार दिपा आले पनि पत्रकारिता क्षेत्रबाट पलायन भयो भनेर आज यस्तै महसुस भइरहेको छ । जसरी म १ वर्षको अन्तरालमा जब म नेपालगन्ज आएर पत्रकार महिलाहरु सँग भेट गरौ भनेर खोज्दा समेत भेटाउनै गाह्रो भयो । श्रमजिवि पत्रकार महिलाहरु शुन्य अवस्थामा पुग्दै गरेको थाहा पाँए ।

 विगतको त्यो लामो कठोरपूर्ण सँघर्षले पत्रकारिता क्षेत्रमा धेरै कुरा सिकाएको छ । समाजमा पत्रकार दिपा आले भनेर चिनाएको छ । मध्येपश्चिम बेस बनाएर नेपालगन्जमा बसी पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा आफूले समाजलाई दिएको योगदान र समाजले आफूलाई दिएको आत्म सम्मानलाई मुल्यांकन गर्दै अघि बढ्ने क्रममा यता ११ वर्ष मगर विद्यार्थी संघलाई पनि साथ साथै लगिरहेको थिए । जसले गर्दा नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा कडा प्रतिश्पर्धाबाट निर्वाचित भएपछि मैले केही समयकोलागि नेपालगन्जबाट काठमाडौ जानु पर्यो । काठमाडौंको भीडलाई उछिन्दै आफूले पाएको जिम्मेवारीलाई पुरा गर्न रातदिन लागिपरे । समय वितेको पत्तै भएन । एक वर्ष पनि बितेछ । कामकै शीलशिलामा नेपालगन्ज आँउदा हिजोको त्यो पत्रकार महिला जमातलाई भेट्न खोजे तर प्रायः पलायन भइसकेका रहेछन् । कोही हुने अवस्थामा देखें ।

काठमाडौमा आफ्नो नँया जिम्मेवारीलाई समाल्दै काम गर्दै थिए । एक दिन नेपालगन्जबाट फोन आयो । मेरो मोबाइलमा जुन नम्बरको फोन आइरहेको थियो त्यो नम्बर सेभ थिएन । कसले फोन गरयो होला भनेर सोचें । एक छिन पछि फोन उठाएं । उताबाट महिलाको आवाजमा हेलो दिपा बहिनी भनेर आवाज आयो । मैले पनि हेलो भने । स्वर चिनेको जस्तो महसुस भयो । साँच्चै नै चिनेको आफ्नै माया गर्ने विन्दु दिदी पो हुनु हुँदो रहेछ । दिदी नमस्ते भने । दिदीको बोलिमा कति माया थियो । जसलाई वर्णन गर्ने शब्द छैन मसंग । उहाँ महिला तथा बालिका कार्यरलयमा कार्यरत हुनुहुन्छ । मैले दिदीलाई के नमस्ते मात्र भन्दै थिए । उहांले भन्नु भयो– तिमी कहिले नेपालगन्ज आउंछौं ? तिमी जस्तो सहनशील आफू भन्दा ठूलोलाई सम्मान र इज्जत गर्ने पत्रकारको अभाव छ दिपा । मैले सुनि मात्र रहे । तिमी नहुँदाको पीडा हामीले भोग्नु परेको छ । तिमी छिटो आऊ तिमी जस्तो पत्रकार महिलाको खाँचो छ हाम्रो नेपालगन्जमा बहिनी बन्नु भयो । विन्दु दिदीको त्यो शब्द सुनेर कता कता मेरो आँखाबाट आँसु रसाए ।

मैले अरु केही भन्न सकिन हुन्छ दिदी म मेरो जिम्मेवारीलाई सकेर छिट्टै नेपालगन्ज आउनेछु । म सधैं हजुरहरुकै साथमा छु । म यहां भए पनि त्यहां धेरै पत्रकार महिला साथीहरु हुनुहुन्छ किन चिन्ता गर्नुहुन्छ दिदी भने । त्यो दिन मलाई दिदीको कुराले मन कटकटी खाइरहयो । मध्ये रातसम्म निन्द्रा लागेन । धेरै कुरा मनमा खेलिरहेको थियो । म कँहा छु । के गर्दैछु । मेरो भूमिका के हो ? मेरो जिम्मेवारी के हो ? फेरी एकपटक मैले समाजकालागि दिएको योगदानको मुल्यांकन पक्कै भएको रहेछ भन्ने महसुस गरे । खुशी पनि लाग्यो । त्यो दिन मैले प्रतिज्ञा गरे म जहां भए पनि पत्रकारिता क्षेत्र मेरो नजिकको साथी बन्नेछ । मलाई माया, विश्वास र सम्मान गर्ने विन्दु दिदी जस्ता हजारौं होलान् । कतिले बोलेर ब्यक्त र्गलान् । कतिले मनमनै भएपनि मलाई सम्झीरहेका होलान् । कतिले मेरो सफलताको कामना गरेका होलान् । आज यसरी मलाई सम्झीनु एउटै मात्र कारण हो म एउटा श्रमजिवि पत्रकार जसले सधैं समाजमा रहेका आवाज विहिनहरुको अवाजकोलागि जुन भूमिका खेले । त्यो भूमिकालाई मूल्यांकन गर्दै समाजले दिएको त्यो अनमोल हिरा हो ।

 हिजोको दिन जति बेला २०६२-६३को जनआन्दोलनमा सयौं पत्रकार महिलाहरु नेपालगन्जमा सक्रिए भएर लागि परेका थिए । कति जोश जांगर थियो त्यो बेला पत्रकार महिलाहरुको तर यति बेला सबै सेलाएर जांदैछन् । कति गहिसके । भएका थोरै मात्र पत्रकारहरु पनि दिर्घकालिन रुपमा टिकिराख्न नसकिरहेको अवस्था छ । अझ पुरुषप्रधान सोंचले भरिएको यो समाजले सधैं भन्ने गर्छ तिमी महिलाहरु केही गर्न सक्दैनौ । तिमी यो समाजको महिला हौं । जहां पुरुषबादी चिन्तनले बांधिएको छ । अर्को पक्ष लामो समय पत्रकारिता क्षेत्रमा काम गर्दा समेत आर्थिक पक्ष बलियो नभैदिदा विस्तारै पत्रकार महिलाहरु पलायन हुनुपर्ने बाध्यता एकातिर छ भने अर्को तिर भौतिक सुरक्षा नहुनु  र स्यम पत्रकार महिलाको कमजोर मुटुका कारण यो पेशामा टिक्न नसकेको निष्र्कष मैले पाएं । एक त समाजले नै महिलालाई कमजोर आकारमा उभ्याएको छ । भने अर्को तिर महिला स्यम म कमजोर छु भन्ने आत्माविश्वासको कमिले संघर्ष गर्न देखि भागि रहेको अवस्था पाएं । नभागोस पनि किन सबैलाई आफ्नो उज्जल भविष्यको चिन्ता हुन्छ । जुन पेशामा लामो समय योगदान दिदा समेत उसको दिर्घकालिन रुपमा आर्थिक, भौतिक जीवन रक्षा हुंदैन भने उ पलायन हुनु सिवाय अर्को विकल्प देखिदैन ।    

पत्रकारिता जस्तो चुनौतिपूर्ण पेशामा पुरुषलाई समेत धौ धौ परेको बेला पत्रकार महिलालाई झनै गाह्रो छ । तर पनि पत्रकार महिलाहरु पत्रकारिता क्षेत्रमा लाग्नु पर्छ भनेर अघि बढी रहेका थिए तर यति बेला बाँके जिल्लामा मात्र होइन मोफसलका प्रायः पत्रकार महिला पलायन हुँदै गइरहेका छन् । यस तर्फ सम्बन्धीत निकायको ध्यान जानु पर्ने तर कसैको पनि भित्री मनसाय बुझ्दा पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा टिकाइराखि राख्ने आत्मबलको कमि भएको महसुस पाएं । केन्द्रदेखि जिल्ला तहका सरोकारवालाहरुको नाडी छामियो तर निष्र्कषमा हातीले देखाउने दांत जस्तै देखिएको पाएं । पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ यति बेला केन्द्रदेखि जिल्लातहसम्म सुस्ताएको अवस्था देख्छु । बैचारिक मतभेद र नाताबादले छोएको महासंघ भित्र यति बेला श्रमजिवि पत्रकार महिलाहरुको कामलाई सहि मुल्यांकन गर्न नसक्दा पलायन हुनु पनि एक कारक तत्व हो । ठूला ठूला सेमिनारमा भोजभतेर सहितको अन्तरक्रिया कार्यक्रम गर्दै गर्दा पत्रकार महिलालाई सञ्चार क्षेत्रमा ब्यवासायीक रुपमै टिकाइराख्न खोक्रा भाषण गर्ने गर्छन् तर ब्यवहारमा शुन्य अवस्था छ । यहां पत्रकार महिलाको कार्य क्षमता र दक्षता होइन नाताबाद, क्रिपावाद र विचारबादले छोएको महासंघ र राज्यसत्ता समेत पानी माथीको ओबानो बन्न खोज्दैछ । खबरदार यो कसैको पेवा होइन । सबैको साझा फूलबारीमा सबैलाई मिलाएर लग्न सक्नुपर्छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तथ्यांकलाई सरसरर्ती हेर्दा पुरा देशभरमा १० हजार ७७  पत्रकार मध्ये ८ हजार २ सय १४ पुरुष र १ हजार ६ सय १३ महिला रहेको वर्तमान अवस्था हो । त्यसभित्र पनि मध्येपश्चिमाञ्चलमा १४ सय ११ पुरा पत्रकारमा ११ सय ४३ पुरुष र २ सय १७ महिला रहेको छ । तर त्यो डाटामा मात्र सिमित हुंदै गएको अवस्था हो । त्यो पनि चुनावकालागि भोट हाल्ने एउटा बाहानाबाजी हो । ताकी श्रमजिवि पत्रकार खोज्ने हो भने छातीमा हात राखेर महसुस गर्नुपर्छ हाम्रा पत्रकारका क्वालीटी कस्ता कस्ता छन् ? जसले आज पत्रकारको नाममा बदनाम गरेको छ । यस तर्फ सम्बन्धीत सरोकारवालाहरुको ध्यान जान किन सकिराखेको छैन । जिम्मेवारीलाई ब्यवाहारिक तहमा ल्याई कार्यान्वयन गर्न सक्न किन आज खुट्टा कापि रहेका छन् ? केन्द्रमा हेर्छु आफ्नै ताल मोफसलमा पुग्छु वेहाल छ पत्रकारको जिन्दगी । राज्यले समेत यसतर्फ गम्भीर भएर ध्यान दिएको पाँउदैन । भन्ने गरिन्छ देशको चौथो अँङ्ग तेस्रो आँखा तर व्यवहारमा रतिभर छैन के यही हो त राज्यको भूमिका ? यस्ता विविध कारणले आज क्षमतावान पत्रकार महिला मात्र होइन पुरुष पत्रकारहरु हराउन बाध्य छन् । त्यो रहर होइन बाध्यता हो ।

त्यसकारण केन्द्रमा मात्र होइन् मोफसलमा क्रियाशील पत्रकार महिलाहरुलाई आर्थिक, भौतिक रुपमै क्षमतावान बनाउन आवश्यक देखिन्छ ।  स्यंम पत्रकार महिलाहरु पनि  आफ्नो पेशालाई अंगाल्दै संघर्ष गर्दै आफ्नो अधिकार प्राप्तीकोलागि अघि बढ्नु पर्छ । ताकि बिच बाटोमै पलायन भएर जानु उचित हुंदैन । एक दिन विहानै बिपि चोकमा चिया पिउदै थिए । एक जना पुरुषबादी सोंचले भरिएको आवाज आयो । कति दिन गछौं चुरीफुरी विहे भएपछि तिमीहरुको औकात महिला मात्र होइन मैला नै हुनेछ । हा हा हा हा….. लामो हाँसो आज पनि मेरो मानसपटलमा गहिरो छाप बसेको छ । हुँदा हुँदा आजका दिन सम्म आइपुग्दा पत्रकार महिलाहरु यसरी पलायन हुँदै गइरहेका छन् जसको नतिजा त्यो आवाजले दिएको थियो । कति कम्जोर मुटु बनाइदिएको छ यो समाजमा महिलाको । जसले हरेक काम गर्न पुरुषबादको दमन र शोषणमा पर्नु परेको छ ।  कमजोर मुटु भएका पत्रकार महिला स्यंम कायर भन्दैछन् । आफू र आफ्नो अस्त्तिवको लडाईमा पछि पर्दैछन् । हिजो पत्रकार क,ख ग भनेर उपनाम पाउने त्यो पत्रकार महिला आज कसैको घरमा कसैको श्रीमति, कसैको बुहारी कसैको भाउजुको रुपमा सिमिति हुनु परेको छ । 

हो हामी मान्छौं समाजमा आइसकेपछि समाजको नियमलाई मान्नु पर्छ तर सामाजिक बन्धनमा बांधिने वित्तिकै आफूले लामो समय दिएको योगदानको कमाई र सम्मानलाई विलिन पार्नु कति सम्म उचित हो ? यो आम पत्रकार महिलाहरुले बुझ्न जरुरी छ । सोच्नुस् हिजोका ति दिनहरु कसरी हामीले काम गरेका थियौ प्रत्येक पाईलामा पसिना र समय मात्र होइन रगत बगाएका छौं । जो मानिस संघर्ष गर्न देखि भाग्छ उसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन । हरेक चुनौतिमा हजारौं अवसर लुकेको हुन्छ । हरेक समस्यामा लाखौं समाधानहरु छुपेको हुन्छ । जसलाई पाउन संघर्ष, निरन्तरता र धर्यताको खाँचो छ । आफू भित्रको आत्मबललाई कमजोर होइन बलियो बनाउंदै हरेक अवसरलाई लिन सक्नु पर्छ ।

विशेष गरी केन्द्रदेखि मोफसलमा क्रियाशील पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिकिराख्ने वातावरणको संरचना राज्यले तत्काल बनाउनु पर्छ । अर्को तिर आफूलाई पत्रकार महिलाबादी भनेर चिनाउन चाहाने हांत्तीले देखाउने दांत जस्ताले विचारबाद, नाताबाद र क्रिपाबादलाई त्यागी सबै तह र तप्काका महिलाहरुलाई समेट्दै उनीहरुको आर्थिक, भौतिक, नैतिक, क्षमता, दक्षता र अवसरमा न्याय गर्नुस् ताकि भोलि तपाईहरुलाई काम लाग्न सक्छ । भनिन्छ परिवारमा एउटा महिला शिक्षित भयो भने उसले आफ्नो सबै परिवारलाई शिक्षित बनाउछ यो कुरालाई सधैं मनन गरौं । त्यसैले सबै वर्ग क्षेत्र र समुदायबाट आएका पत्रकार महिलाहरुमा समान सहभागीता, समावेशी र समानुपातिक ढंगले उनीहरुको दिर्घकालिन भविष्यलाई पत्रकारिता क्षेत्रमा ग्यारेन्टी गरौं । होइन भने भएका थोरै पत्रकार महिलाहरु पनि भोको पेट लिएर काम गर्न सक्दैनन् । अनि कहाँबाट हुन्छ पुरुष र महिलाको समान सहभागीता आफै सोच्नुस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %