प्रथम सहिद लखन थापाको १३८औं स्मृति दिवस मनाइयो

Read Time:5 Minute, 58 Second

अधिकार प्राप्तिका लागि निर्णायक लडाइँः थापा

रूद्र श्रीसमगर

पोखरा, २ फागुन-नेपालका प्रथम सहिद क्या लखन थापामगरको १३८औं स्मृति दिवस शनिबार देशैभरि विविध कार्यक्रम गरी मनाइयो ।

पोखरामा पनि नेपाल मगर सङ्घ कास्कीको आयोजनामा सच्चा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर सङ्घ कास्कीको सभाभवनदेखि स्मृति ¥याली सुरु गरी पोखराको मुटुमा अवस्थित लखनचोकमा रहेको प्रथम सहिदको शालिकमा माल्यार्पण र नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी श्रद्धाञ्जली अर्पण गरियो ।

स्मृति ¥यालीपछि आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले अधिकार प्राप्तिका लागि निर्णायक लडाइँ आवश्यक रहेको बताए ।आफूहरूले जातीय समानताका लागि लडिरहेको दाबी गर्दै अध्यक्ष थापाले अधिकार प्राप्तिको निर्णायक लडाइँमा होमिन सम्पूर्ण मगरहरूलाई अपिल गरे । ‘हामीले जातीय मुक्तिको मुद्दा उठाइरहँदा हामीलाई जातिवादी ठानियो’, थापाले भने, ‘जसले हामीलाई साम्प्रदायिक र जातिवादी देख्छ, ऊ नै वास्तविक जातिवादी हो ।’

नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले प्रथम सहिद क्या लखन थापामगरले नेपाली जनताको मुक्तिका लागि बलिदानी गरेको स्मरण गर्दै आवश्यक परे अधिकारका लागि फेरि पनि बलिदान दिन तयार रहनुपर्ने बताए । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्तीले प्रथम सहिदलाई अझै पनि राज्यले सम्मान दिन नसकेको भन्दै सम्पूर्ण नेपाली जनताले एकपटक प्रथम सहिदको सम्मानका लागि उठ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका संस्थापक अध्यक्ष क्या कृष्णबहादुर थापामगर, नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष फूल कुमारी थापामगर, मिस मगर नेपाल–२०१४ की बिजेता उषा पाइजामगर, किरात सेवा समाज कास्कीका गजेन्द्र सुब्बा, चन्द्र प्रकाश थापामगर, मगर भाषा प्रतिष्ठान कास्कीका उपाध्यक्ष रूद्रबहादुर हितानमगर लगायतले प्रथम सहिदका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव याम बहादुर थापामगरले गरेका थिए भने सदस्य बुद्धि माया थापामगरले स्वागत मन्तव्य दिएकी थिइन ।

यसैबीच, सोही कार्यक्रमका अवसरमा नेपालका प्रथम सहिद लखन थापाको विस्तृत जीवनीमा आधारित वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरद्वारा मगर भाषामा रचित ‘लखन थापा गीति काव्य’को विमोचन समेत गरियो । नेपाल मगर सङ्घ कास्कीले प्रकाशन गरेको सो कृतिको प्रमुख अतिथि एवं नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले विमोचन गरेका थिए ।

सो कृतिबारे समीक्षा गर्दै मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापामगरले मगर साहित्यमार्फत् प्रथम सहिदको जन्मदेखि सहादतसम्मका घटनालाई लयात्मक शैलीमा लेखिएको कृति मगर साहित्यका लागि नौलो आयाम भएको बताए ।

त्यस्तै, शनिबार साँझ लखनचोकस्थित प्रथम सहिदको शालिक रहेको स्थलमा दीपावली समेत गरियो । दीपावलीका लागि नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, एमाओवादीनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव बालकृष्ण काउछामगर, पुन मगर समाज नेपालका केन्द्रीय अध्यक्ष भीम पुनमगर, महासचिव खेमबहादुर गर्बुजा पुनमगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसरांगीमगर, नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिका सचिव हुमबहादुर थापामगर ‘ऋतुभक्त’, नेपाल मगर विद्यार्थी सङ्घ गण्डकी अञ्चल समितिका सचिव प्रेम रोकामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर लगायतको उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %