स्मृति दिवसलाई उप–सभामुखले सम्बोधन गर्ने
सनु थापा मगर
बुटवल , फाल्गुण २ – शहीद क्या. लखन थापा मगरको स्मृतिमा बुटवलमा १३८ औँ प्रथम शहीद लखन थापा मगर स्मृति दिवस भब्यताका साथ सम्पन्न हुने भएको छ ।
बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराईएको हो । शहीद लखन थापालाई निर्मम तरिकाले झुन्ड्याएर फाँसी दिएको दिन फागुन २ गतेलाई प्रत्येक वर्ष लखन स्मृति दिवसको रुपमा मनाउदै आइरहेको प्रथम शहीद लखन थापा मगर अक्षय कोष २०५६ का संयोजक माथवर सिंङ सलामी मगरले बताए ।
सरकारले थापालाई शहीद घोषणा गरेको करीब एक दशक बितिसक्दा पनि सरकारले औपचारीक रुपमा अहिले सम्म शहीदको स्मृतिमा कुनै पनि कार्यक्रम नगरेको आयोजकले गुनासो गरेका छन् ।
शहीद त सबैको हो तर मगर शहीद भएकै कारणले गर्दा राज्यले उनलाई उपेक्षा गरेको उनिहरुको गुनासो थियो । लखन थापा मगर अक्षयकोषले प्रेस बक्तव्यमार्फत शहीद लखन थापामगरलाई राज्यले बेवास्ता गरेको भन्दै विभिन्न ५ वटा मागहरु राखेको छ । “ शहीद लखन थापामगरलाई प्रथम शहीद घोषणा गरियोस , फागुन २ गतेलाई सार्बजनिक विदा घोषणा गरियोस ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रचलनमा रहेको शहीद सप्ताहलाई फागुन २ गते देखी मनाउन समेत माग गरेको छ । जयसिंङ चुमि मगर , सुकदेव गुरुङ , सुपति गुरुङ लगायत तात्कालीन प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सबैलाई शहीद घोषणा गर्नु पर्ने लगायतका मागहरु राखेका छन् । प्रथम शहीद लखन थापा मगरको पुर्ण कदको शालिक रहेको लखनचौक चौराहा बुटवलमा आज शनिबार स्मृति दिवस समारोहमा प्रमुख अतिथीको रुपमा संविधान सभाका उप–सभामुख ओनसरी घर्ती मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै राजमुपाका सभासद् शिबलाल थापा मगरले पनि कार्यक्रमलाई सम्बोधन गर्ने आयोजकको तर्फबाट दल बहादुर विर्कट्टा मगरले जानकारी दिए । सरकारले शहीद लखन थापाको स्मृतिमा कुनै पनि औपचारिक कार्यक्रम नगरीरहँदा जनस्तरबाट भने देश विदेशमा विभिन्न कार्यक्रम गरी शहीद प्रति श्रद्धाशुमन अर्पण गर्ने काम भएको छ ।
यसैविच राष्ट्रिय युवा मोर्चा रुद्रपुरले पनि आज रुद्रपुरमा प्रथम शहीद लखन थापा मगरको स्मृतिमा विभिन्न खेलकुदको कार्यक्रम आयोजना गरी शहीद दिवस मनाउने जानकारी दिएको छ ।
