गोविन्द घर्ती
देवदह फागुन १ । बृहत लुम्विनी गुरुयोजनामा भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रलाई समेटदै अगाढि बढ्ने नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले बताएका छन । पौडेलले ऐतिहासिक देवदह क्षेत्रको उत्खनन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रथम राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७१ को उद्घाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन । पौडेलले राष्ट्रसेवक कर्मचारीले आफनो साधन श्रोत र क्षमताले भ्याए सम्म जनताको काम छिटो गर्नु पर्नेमा जोड दिए । राष्ट्रसेवक कर्मचारीले जनताको काम गर्न आलटाल गरेमा त्यस्ता कर्मचारीलाई कार्वाही गर्ने मुख्य सचिव पौडेलले बताए ।
पौडेलले नागरिकको काम नियम संगत तरिकाले छिटो छरितो गर्न कर्मचारीलाई निर्देशन समेत दिए । सचिव पौडेले उद्योगको विकासका लागि उद्योगी र श्रमिक वीच सुमधुर सम्वन्ध कायम हुनु पर्नेमा जोड दिए । उद्योग र श्रमिक वीचको सम्वन्ध राम्रो नहुदा उद्योग धरासायी बन्ने र श्रमिकले काम नपाउने हुदा देशमा समस्या आउने गरेको पौडेलको भनाई रहेको छ । आयतलाई प्रतिस्थापन गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र कृषिलाई व्यवसायीककरण गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै सभासद भक्ति पाण्डेले उद्योग नीति सही नहुदा उद्योगी व्यवसायीहरुले समस्या झेल्नु परेको बताए ।
देशमा लोडसेडिङ्गका कारण धेरै उद्योगहरु पलायन हुनु पर्ने अवस्था आएकोले सरकार गंभिर हुनु पर्नेमा जोड दिए । उहाले नेपाली नागरिकले शान्ति र सुव्यवस्था चाहेको कारण राजनैतिक निकास तत्काल निकाल्नु पर्नेमा समेत जोड दिए । पाण्डेले सहमति, सकार्य र सहअस्तित्वको कुनै विकल्प नभएको कारण निकासको लागि सवैको त्याग आवश्यक रहेको औल्याएका थिए । महोत्सव मुल आयोजक समितिका संयोजक गोविन्द ठड्राईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग व्यापार संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष श्याम बहादुर पाठक, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले बोल्दै देवदहमा रहेको ऐतिहासिक स्थलको उत्खनन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिएका थिए ।
मुल आयोजक समितिका सहसंयोजक गणेश कुमार खातीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । देवदह–१०, घोडाहा देखि विभिन्न जातीय झाकी सहितको ¥याली गरिएको थियो । ¥यालीमा विद्यालय, आमा समुह, क्लव, विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय बजारमा खरीद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान गरौ भन्ने मुलनारा साथ उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा संचालित महोत्सव फागुन १० गते सम्म संचालन हुनेछ ।
