रूद्र श्रीसमगर
पोखरा, २८ माघ
नेपाल मगर लेखक सङ्घ कास्कीको पुनर्गठन गरिएको छ । अध्यक्षमा मीगीन र सचिवमा घर्तीमगर चयन भएका छन ।
बुधबार सम्पन्न भएको जिल्ला समिति बैठकले रिक्त पदमा पदपूर्ति गर्दै समितिको पुनर्गठन गरेको छ । जसमा अध्यक्ष कृष्ण थापामगर ‘मीगीन’ यथावत रहेका छन । त्यसैगरी, उपाध्यक्षमा हुमबहादुर सिंजालीमगर र कोषाध्यक्षमा सरिता थापामगर यथावत रहेका छन ।
सचिव समरबहादुर थापामगर र सह–सचिव पवित्रा बुढामगर सम्पर्कविहीन भएपछि रिक्त ती दुवै पदमा क्रमशः कविता घर्तीमगर र कर्मयुग कुमालमगरलाई बैठकले चयन गरेको छ । ११ सदस्यीय समितिमा नयाँ सदस्यका रूपमा निशा घर्तीमगरलाई समेत थप गरेको छ ।
अध्यक्ष मीगीनको अध्यक्षतामा भएको बैठकमा सङ्घका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर र गण्डकी अञ्चल सचिव हुमबहादुर थापामगर ‘ऋतुभक्त’ मगर लेखकहरूले मगर जातिको उत्थानमा खेल्नुपर्ने भूमिका बारेमा दिशानिर्देश गरेका थिए ।
यसैबीच, बैठकले आगामी फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिको आयोजनामा पोखरामा हुन लागेको ‘मातृभाषा शिक्षाको महत्व र बहुभाषिक शिक्षा निर्देशिका–२०६६ कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमको तयारीमा जुट्ने निर्णय समेत गरेको छ ।
