गोविन्द घर्ती
रुपन्देही माघ २८ । प्रथम राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव२०७१ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय बजारमा नै खरिद गरौ, स्थानीय बजारको प्रवर्धन गरौ, स्वाभिमानी नेपालीको पहिचान बनाऔ भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन देवदह र उद्योग व्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा फागुन–१ गते देखि १० गते सम्म संचालन हुने महोत्सवमा करिव २ करोड देखि २ करोड ५० लाखको कारोवार हुने आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान गरिएको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो । महोत्सव १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको उद्घाटन सरकारका मुख्य सचिव लिलामणि पौडेलले गर्नु हुने भनि पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । देवदह क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरेको महोत्सव मूल आयोजक समितिका संयोजक गोविन्द ठड्राईले बताए । देवदह क्षेत्रलाई पर्यटकीय, औद्योगिक र व्यापारीक नाकाको रुपमा रुपान्तरीत गर्न महोत्सवले महत्वपूर्ण मूमिका खेल्ने संयोजक ठड्राईले बताए ।
महोत्सवका लागि २ सय स्टल दर्ता भएको र स्टल दर्ता कार्य सम्पन्न भएको संयोजक ठड्राईले जानकारी दिए । त्यस्तै गरि टिकटको आम्दानीबाट ५ प्रतिशत रकम पाकरी वृक्ष संरक्षण र प्रवर्धनको लागि छुट्टयाईने समेत संयोजक ठड्राईले बताए । महोत्सवमा बृद्ध, अपाङ्ग, विद्यार्थीहरुलाई ३० रुपैया र साधारणको लागि ४० रुपैया रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै संस्थागत सिफारिसमा २० रुपैया कायम गरिने भएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक गोविन्द ठड्राईको अध्यक्षता र उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य मनिषकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिमबहादुर खत्री, महोत्सव मिडिया उपसमितिका संयोजक यम राना लगायतले बोलेका थिए । उद्योग व्यापार संगठन देवदहका सचिव मेघराज ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
