आङ काजी शेर्पा किसान
काठमाडौ, माघ २२ – संविधानसभा बैठक बहिष्कार गरेर सडक संघर्षमा रहेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले माघ-२९ गतेदेखि फागुन-९ सम्मकको आन्दोलनको कार्यक्रम तय गरेको छ । बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला खटाएको छ ।
१) माघ-२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने,
२) फागुन-२ गते संयुक्त कार्यकर्ता भेला गर्ने,
३) ३ गते देशभर जिल्ला प्रशासन घेराउ गर्ने र
४) ९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाका नेता प्रमेबहादुर सिंहले बताए । मुख्य स्थानमा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन ३५ जना नेता तय गरिएको सिंहले जनाए । पहिलो चरणको प्रचारात्मक आन्दोलन अन्तर्गतकै यो थप कार्यक्रम हो -उनले भने ।
बैठकले पुष्पकमल दाहाललाई-काठमाडौं, बाबुराम भट्टराई-नेपालगंज, महन्थ ठाकुर-भैरहवा, उपेन्द्र यादव- विराटनगर, राजेन्द्र महतो-जनकपुर, विजय गच्छदारलाई राजविराजमा संयुक्त कार्यकर्ता भेलालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
भण्डाफोर तथा खबरदारी अभियान किन ?
१) नेपाली जनताले २०६२/६३ सालको जनक्रान्ति, १० बर्षे जनयुद्ध, मधेस विद्रोह, आदिवासी जनजातिको सङ्घर्ष लगायतका आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्न ।
२) सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र लगायतका आन्दोलनका उपलब्धिहरू संस्थागत गराउन ।
३) विगतमा भएको सम्झौता र समझदारीहरूलाई लत्याएर बहुमतीय प्रक्रियाबाट यथास्थितिवादी संविधान निर्माण गर्ने षड्यन्त्रको भण्डाफोर गर्न ।
४) अन्तरिम संविधानको धारा १३८, १ (क) अनुरूप राज्यको पुनर्संरचना गरी पहिचान सहितको सङ्घीय संविधान जारी गराउन ।
५) उत्पीडित राष्ट्रियता, वर्ग, क्षेत्र र लिङ्गका मागहरू पुरा गराउन ।
६) संविधान सभाबाटै सहमतिका आधारमा अग्रगामी संविधान जारी गराउन ।
७) समानुपातिक निर्वाचन प्रणाली लागू गराउन तथा श्रमिक र विपन्न वर्गको समेत प्रतिनिधित्व सुनिश्चित गराउन ।
८) सङ्घीय न्यायपालिका सुनिश्चित गराउन ।
९) धर्म निरपेक्षता कार्यान्वयन गराउन ।
१०) जातीय छुवाछुत मुक्त राष्ट्रको घोषणा लागू गराउन ।
११) आमाको नाममा वंशजको नागरिकता सुनिश्चित गराउन ।
१२) वैज्ञानिक भूमिसुधार लागू गराउन ।
१३) सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग गठन गराउन
१४) आदिवासी जनजाति, मधेसी, दलित, खस, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय लगायतका जनताको अधिकार सुनिश्चित गराउन ।
१५) देशमा व्याप्त महङ्गी, भ्रष्टाचार र काला बजारीबाट जनतालाई मुक्त गराउन ।
१६) दिनको १२ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नु परेका जनतालाई राहत दिलाउन ।
१७) खाना पकाउने एल. पि. ग्यासको आपूर्तिमा भइ रहेको कमिशनखोरहरूको नियन्त्रणबाट जनतालाई मुक्त गराउन तथा डिजेल र पेट्रोलको भाउ घटेको परिप्रेक्षमा सार्वजनिक यातायातको भाँडा घटाउन ।
आदरणीय जनसमुदायहरू,
यथास्थिति र प्रतिगमनको विरुद्ध सङ्घर्ष गरौँ, पहिचान र अधिकार सहितको सङ्घीय संविधान निर्माण गरौँ !
अहिले संविधान सभा काङ्ग्रेस–एमाले–राप्रपा जस्ता यथास्थितिवादी र प्रतिक्रान्तिकारीहरूको हतियार बन्ने सम्भावना बढेको छ ।
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस विद्रोह, आदिबासी जनजातिसँगको सम्झौता लगायतका आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरू गुम्ने खतरा उन्पन्न भएको छ ।
त्यसैले जनताले क्रान्ति र जन आन्दोलनका बलबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू आन्दोलनकै बलमा संस्थागत गर्न हामी सडकमा उत्रन बाध्य भएका छौँ ।
अतः हाम्रो समग्र भण्डाफोर तथा खबरदारी अभियान र २०७१ फागुण १६ गते हुने जन प्रदर्शन तथा सभामा सहभागी होऔँ, जनताको शक्ति प्रदर्शन गरौँ ।
तीस दलीय गठबन्धन
