गोविन्द घर्ती
माघ २२ । मातृभाषा संरक्षण र सम्वद्र्धन गर्ने विद्याललाई राज्यले सहयोग र सम्मान गर्नु पर्ने जिल्ला शिक्षा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताएका छन । सरकारले मातृ भाषाको संरक्षण र सम्वद्र्धन गर्न पाठ्यक्रममा मातृ भाषालाई समावेश गरे पनि पाठयक्रम निर्माणमा खेलवाड गरेको बताए । मातृभाषा पठन पाठनको लागि राज्यले विशेष कार्ययोजना ल्याए मात्र मातृभाषाको शिक्षा कार्यान्वयन हुन सक्ने बताए । देवदह मदर टङ्गस एकेडेमी देवदह–६ को १६ औ बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाले उक्त कुरा बताएका हुन ।
मदरटङ्गस एकेडेमीले स्थापनाकाल देखि मातृभाषामा पठन पाठन गराउदै आएकोमा जिशिअ थापाले खुसी व्यक्त गरेका थिए । जिशिअ थापाले राज्यको मुलधारबाट वन्चित जातिहरुको भाषालाई संरक्षण र सम्वद्र्धन गर्न मदरटङ्गस एकेडेमी लागि परेको हुदा राज्यले सम्मान गर्नु पर्नेमा जोड दिए । उहाले स्थापना कालदेखि मातृभाषाको अध्यापन गराएर मदरटङ्गस एकेडेमीले उदाहरणीय काम गरेको र अन्य विद्यालयहरुले पनि मातृभाषामा पढाउन पहल गर्नु पर्नेमा जोड दिए ।
जिशिअ थापाले व्यवसायिक र व्यवहारिक शिक्षा संगै मातृभाषाको शिक्षा पनि आवश्यक रहेकोमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौ बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य विष्णु पन्थी, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव गंगाराम आर्चाय, विद्यालय निरिक्षक हरिलाल अर्याल, क्षेत्रीय शिक्षा निर्देशानालय पोखराका उपनिर्देशक गंगाबहादुर गुरुङ्ग, नेशनल प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेल, प्याव्सन रुपन्देहीका सचिव महेश भुर्तेल, सहसचिव विनोद ज्ञवाली, ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काफले, टिकुलीगढ उच्च माविका प्राचार्य गोविन्द काराखेती, देवदह ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल विष्णु पौडेल, देवदह उधोग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका प्रवन्ध निर्देशक भिम गुरुङ्गको स्वागत, शिक्षक चित्रबहादुर सुनारी र देव गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक नाचहरु प्रस्तुत गर्नुका साथै शैक्षिक तथा खेलकुदमा विजय विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
