देब पचभैया
स्याङ्जा, ९ माघ -जिल्लाको मध्ये भागमा रहेको प्रमुख व्यापारिक केन्द्र वालिङ्मा माघ १८ सम्म संचालन हुने पाँचौं वालिङ् महोत्सव माघ ८ बाट शुरु भएको छ ।
समग्र जिल्लाको चिनारीलाई विश्व सामु पुर्याउने लक्ष्य सहित “हाम्रो गौरब हाम्रो शान “वालिङ् महोत्सव हाम्रो पहिचान” भन्ने नारा सहित महोत्सव शुरु भएको हो ।
प्रत्येक २ वर्षको अन्तरमा २०६३ देखि संचालन हुदै आएको महोत्सवलाई “पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक, कृषि, पर्यटन, संस्कृति, सूचना प्रबिधि तथा व्यापार मेला” नाम दिइएको छ । १० दिन संचालन हुने महोत्सवको पाँचौं संस्करणमा करिब ६ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
३ लाख दर्शक भित्र्ने अपेक्षा गरिएको महोत्सवमा करिब ७२ लाख आम्दानी र झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट २२ लाख आम्दानी हुने महोत्सव आयोजक वालिङ् उल्द्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा बिक्री हुने प्रत्येक टिकटबाट १ रुपैयाँका दरमा संकलित रकमबाट वालिङ् खेलमैदान निर्माण र शैक्षिक क्षेत्रको विकासमा खर्च गरिने भएको छ । संघमा आवद्ध व्यापारिहरुको व्यवसायीक क्षमता अभिबृद्धि गर्नका लागि बिक्री हुने प्रत्येक टिकटबाट प्राप्त ५ रुपैयाँ बिनियोजन गरिने संघका सचिव टिकाराम तिवारीले जानकारी दिए ।
करिब २ सय स्टल रहेको महोत्सव स्थलमा प्राथमिकताका साथ २० वटामा कृषिजन्य वस्तुको प्रदर्शनी र बिक्री गरिएको छ । अन्य स्टलमा अटोमोबाईल, रेष्टुरेण्ट, सूचना प्रबिधि, शैक्षिक, पर्यटन, बैंक तथा वित्तिय संस्था राखिएको छ ।
आँधीखोलालाई कृत्रिम रुपमा थुनेर बनाइएको जलबिहारमा बोटिङ् गर्ने दर्शकको घुईचो नै लागेको छ । महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्र श्रवणकुमारका बाबुआमाको बारेमा, पञ्चासे, नुवाकोट, सिरुबारी, सिर्सेकोट, पित्लेक, गरौसुर र आलमदेबी लगाएतका स्थानहरुको मूर्ति तथा फोटो प्रदर्शनी गरिएको छ ।
