रूद्र श्रीसमगर
पोखरा, ९ माघ
मगर जातिको पहिचान तथा संस्कृति बोकेको मौलिक नृत्य “कौह्रा”को संरक्षण, संवर्धन र निरन्तरता दिने उद्देश्यले नेपाल मगर संघ नयाँ बजार एकाइ समिति, कास्कीको आयोजनामा नेपाल मगर संघ कास्की अन्तर्गतका एकाइहरू बीच ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता’ हुने भएको छ ।
यही माघ १० गते पोखरा सभागृहमा हुने सो प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता गर्न बुधबार दिउँसो ३ बजेसम्मको समय दिइएको छ । प्रतियोगितामा आफ्नो टिमको नाम दर्ताका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र, द्धितिय हुनेले १५ हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र, तृतीय हुनेले १० हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र तथा सान्त्वना हुनेले ५ हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको आयोजक नेपाल मगर संघ नयाँबजार एकाइ समितिका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिएका छन । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भेषभूषा पुरस्कार स्वरुप ४ हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र तथा उत्कृष्ट नृत्य निर्देशक पुरस्कार बापत ३ हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्रको समेत व्यवस्था गरिएको अध्यक्ष थापा मगरले बताएका छन ।
प्रतियोगिताका सहभागी प्रतियोगी टिमले भेषभूषा तथा पहिरन विशुद्ध जातीय पहिचान झल्किने खालको हुनुपर्ने, नृत्यका लागि आवश्यक बाजागाजा तथा गीति क्यासेट आफैंले व्यवस्था गर्नुपर्ने, नृत्य गर्ने प्रतियोगीको संख्या कम्तीमा ४ जना र बढीमा १० जनाको हुनुपर्ने लगायतका नियमलाई ख्याल गर्नुपर्ने आयोजकको भनाइ छ । प्रतियोगिता हेर्ने दर्शकका लागि एक सय, दुई सय र पाँच सय रुपैयाँका टिकट राखिएका छन् । प्रतियोगिताबाट प्राप्त हुने आम्दानी सामाजिक सेवामा खर्च गरिने थापा मगरले बताए ।
