राज्य सत्ता
भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहकाबीच विमानस्थलको विहीबार आज शिलान्यास गरेका हुन् ।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले सन् २०१७ डिसेम्बरमा विमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न गर्नुपर्ने सर्त छ । यसको निर्माणमा ६ अर्ब २२ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
एसियाली विकास बैंकको ५ करोड ८५ लाख अमेरिकी डलर र ओ एफ आइ डीको १ करोड ५० लाख डलर ऋण एवं अनुदान सहयोग उपलब्ध छ भने बाँकी नेपाल सरकारले लगानी गर्नेछ । स्तरोन्नति पछि यो विमानस्थल तीन हजार मिटर रनवे क्षमताको हुनेछ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको यात्रुचापलाई कम गर्न, जहाजको मुभमेन्ट बढेको कारण होल्ड गर्नुपर्ने समस्या तथा खाडीमुलुकबाट आउने जहाजको लागत नै कम गर्न पनि गौतमबुद्ध विमानस्थल उपयोगी हुने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतम बुद्ध स्तरोन्नति आयोजनाका निर्देशक मुरारी भण्डारीका अनुसार त्रिभुवन विमानस्थल सरहकै क्षमतामा बन्ने गौतमबुद्ध विमानस्थललाई काठमाडौंको तुलनामा बढी लाभदायी र प्रभावकारी बनाउन सकिन्छ । त्रिभुवन विमानस्थलमा अहिले दुई हजार आठ सय मिटरको भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छ ।
हवाई उड्डयनमा विकसित नयाँ प्रविधि रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड आर एन पी(एआर) मा अवतरण गराउँदा एक हजार एक सय मिटरको भिजिबिलिटी काठमाडौंको विमानस्थललाई चाहिन्छ तर भैरहवामा इस्ट्रुमेन्टल ल्यान्डिङ सिस्टमका कारण पाँच सय मिटरको भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्ने प्रविधि हुने भण्डारीले बताए ।
भैरहवा विमानस्थलमा विदेशी मुलुकबाट लुम्बिनी आउने पर्यटक सीधै आउन सक्ने, पोखरा जाने यात्रु पनि यही विमानस्थलको प्रयोग गर्न सक्ने, नेपालको पूर्वपश्चिम जाने यात्रु यो विमानस्थललाई दृष्टिगत गरेर क्रस बोर्डरबाट आउने जहाजको सहजता तथा काठमाडौंमा विदेशी वायुसेवाले लामो समय होल्ड गर्नु नपर्नेसहितको उद्देश्यले भैरहवा विमानस्थलको प्रयोग बढ्ने प्राधिकरणको भनाइ छ ।
भैरहवामा हुने आन्तरिक विमानस्थल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहकै हुन्छ । जसका कारण यहाँ अवतरण गर्ने जुनसुकै वायुसेवाका अन्तर्राष्ट्रिय यात्रु आन्तरिक वायुसेवाको प्रयोग गरेर तुरुन्त काठमाडौंसमेत आउन सक्छन् ।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा आन्तरिक वायुसेवा सञ्चालन भइरहेको छ । यसलाई यथावत् राखेर नर्थवेस्टले अर्को तीन हजार मिटरको नयाँ धावनमार्ग बनाउनेछ । तीन वर्षपछि आन्तरिक उडामा प्रयोग भएको अहिलेको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकोले पनि जहाज उडान तथा अवतरणमा कुनै अवरोध नहुने प्राधिकरणले जानकारी दिएको छ ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय त्रिभुवन विमानस्थल अति व्यस्त हुँदा पार्किङमा समस्या हुँदै आइरहेको छ ।
त्रिभुवन विमानस्थल व्यस्त हुँदा कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने तितो यथार्थ अहिले नेपालले भोगिरहेको छ । गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएपछि जहाज फर्काउनुपर्ने बाध्यता हटेर जाने विश्वास निर्देशक भण्डारीको छ ।
विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुने जहाजमध्ये १० प्रतिशत गौतम बुद्धमा अवतरण गर्ने र बाँकी नयाँ थपिने अनुमान गरिएको छ ।
