आर्थिक बर्ष २०७२/०७३ का लागी झण्डै १६ करोड विनियोजन
देब पचभैया
पाल्पा, पौष २९-तानसेन नगरपालिकाको १८ औं नगरपरिषदले आर्थिक बर्ष २०७२/०७३ का लागी १५ करोड ६७ लाख ६९ हजार बराबरको बार्षिक कार्यक्रम र बजेट विनियोजन गरेको छ । २००७ सालमा बनेको तानसेन नगरपालिकाले पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सरसफाईको क्षेत्रमा नमुना शहर बनाउने गरी योजना तथा कार्यक्रम लाई महत्व दिई गरी १४ करोड ४५ लाख ४७ हजारको पु‘जिगत खर्च विनियोजन गरिएको हो ।
पर्यटनको विकासमा श्रीनगर क्षेत्रलाई व्यवस्थित गरी भ्यु टावरको निर्माण सम्पन्न गर्ने, श्रीनगर डाडामा चिडियाघर निर्माण प्रक्रिया थाल्ने, तानसेनको मुटु शितलपार्टी क्षेत्रमा ढुङ्गा छपाई गर्ने, तानसेनको आगनको रुपमा टुडिखेलको सौन्र्दयता बढाउने, तानसेनलाई प्लाष्ट्रिक मुक्त शहर बनाउने, अमरनारायण मन्दिरको निर्माणलाई तिब्रता दिने लगायतका योजनाहरु तानसेन नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले सार्वजनिक भएको छ ।
विश्व बैंक सहयोग, नेपाल सरकारको अनुदान र आन्तरिक स्रोत आधार मानेर कृषिको व्यावसायीकरणमा जोड दिन, कृषि सडकहरुको विस्तार र शीत भण्डार निर्माण सम्पन्न गर्ने, सहरी सडकहरुको कालोपत्रे र पि.सि.सि कार्यलाई निरन्तरता दिने र बस टर्मिनलको निर्माणलाई अगाडी बढाउने महत्वकांक्षी योजनाहरु सार्वजनिक गरिएको छ । तानसेनका भवन निर्माणको लागी राष्ट्रिय भवन निर्माण आचार संहिता लागु गर्ने, टोल विकास संस्था र लक्षित वर्गको विकासमा जोड दिने र शहरी वातावरण सुुधारमा ध्यान दिने, सडक बत्तीलाई व्यवस्थित गदै नगर सुरक्षामा सि.सि.टि.भि जडानलाई निरन्तरता दिने, नगर स्वास्थ्य र बालपोषण जस्ता कार्यक्रमहरु तय गरिएको छ ।
