गोबिन्द घर्ती
रूपन्देहि ,पौष २६ – पहिचान, जनसंख्या र सामथ्र्यलाई आधार मानेर तराई र पहाडमा बरावरी प्रदेश बनाउनु पर्ने थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले बताएका छन् ।
अध्यक्ष चौधरीले पहिचान विना कुनैपनि जातिको अस्तित्व कायम हुन नसक्ने हुदा पहिचानलाई जोगाउने गरी प्रदेशहरु बनाईनु पर्नेमा जोड दिए । थारु कल्याणकारिणी सभा देवदह नगर समितिले देवदहमा आयोजना गरेको नया बर्ष खिचडी महोत्सव–२०७१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले सत्तापक्ष र प्रतिपक्ष दुवैले प्रस्तुत गरेको प्रदेश थारुकल्याणकारिणी सभालाई मान्य नभएको बताए । नेपालमा रहेका सवै जात जातीको संस्कृतिको संरक्षण गर्ने कार्यमा थारु कल्याकारिणी सभा सचेत रहेको समेत उनले बताए ।
सोही अवसरमा उनले राज्यले कमलरी र हरुवा प्रथाको अन्त्य गरेको घोषणा गरेपनि व्यवहारमा लागु हुन नसेको बताए । अझै पनि तराईका धेरै जिल्लाहरुमा कमलरी र हरुवा प्रथा कायम रहेको बताए । राजनैतिक दलका नेताहरुको व्राहमणवादी चिन्तनका कारण समयमा तोकिएको समयमा संविधान जारी हुन नसक्ने अध्यक्ष चौधरीले बताए ।
थारु कल्याणकारिणी सभा देवदह नगरसमितिका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभाका केन्द्रीय उपाध्यक्ष वावुराम चौधरी, जिल्ला अध्यक्ष रामवली चौधरी, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, देवदह नगरसमितिका अध्यक्ष बोमबहादुर गुरुङ्ग, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, देवदह साप्ताहिकका त्रिलोचन दाहाल, केरवानी उपस्वास्थ्य चौकीका ईश्वरी ढुगाना, अनिरुद्रप्रसाद थारु लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा कक्षा १२ उत्तिर्ण विद्यार्थी, सभालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सल्लाहकार केशव खवासको स्वागत, दीर्घबहादुर चौधरी र कुलबहादुर खवासको संचालनमा भएको कार्यक्रममा थारु सास्कृतिक झल्कने नाचहरु प्रर्दशन गरिएको थियो ।
