देशव्यापी नेकपा–माओवादीको आन्दोलन

Read Time:3 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, २३ पुस – नेकपा–माओवादीले दोस्रो संविधानसभा विघटन गरी तत्काल सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गर्न माग गर्दै आमहड्तालसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

जस अनुसार माओवादीले वितरण गरेको अपिलमा यही पुस २५ गते पूर्वाञ्चल (मिथिला, कोचिला, किरात र लिम्बुवान), २७ गते पश्चिमाञ्चल (थारूवान, भेरी–कर्णाली र सेती–महाकाली), २८ गते मध्यपश्चिमाञ्चल (अवध, मगरात र तमुवान), २९ गते मध्यमाञ्चल (भोजपुरा, नेवाः र ताम्सालिङ) बन्द र माघ ३ गते देशव्यापी आमहड्ताल रहेका छन् । देशव्यापी आमहड्तालको अघिल्लो दिन माघ २ गते साँझ सबै जिल्ला सदरमुकामहरूमा मसाल जुलुस प्रदर्शन गर्ने माओवादीले जनाएको छ ।

यसैबीच, नेकपा–माओवादी कास्कीले पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको छ ।

बुधबार सम्पन्न जिल्ला सम्मेलन आयोजक समितिको बैठकले घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको माओवादीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले जानकारी दिए ।

त्यसैगरी, सो बैठकले हालसम्म कास्कीका चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रको क्षेत्रीय भेला सम्पन्न भइसकेको र बाँकी क्षेत्र नं. १ को क्षेत्रीय भेला तत्काल गर्ने, आगामी माघ २ गते पार्टीको सहायक स·ठन राष्ट्रिय युवा जनस्वयंसेवकको जिल्ला भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी यशोदा सुवेदी ‘प्रभा’ले गत पुस ११–१५ मा काठमाडौंमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय भेलाको भाव सम्प्रेषण गरेका  थिए भने केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले समसामियक विषयमा विचार व्यक्त गरेका थिए ।

जिल्ला संयोजक अजितको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिल्ला सल्लाहकार निलप्रसाद श्रेष्ठ, मुस्ताङ जिल्ला सेक्रेटरी सत्यनारायण शेरचनलगायतको उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %