देव पचभैया
पाल्पा, पौष २४-एकिृकत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा र नेकपा–माओवादीले घोषणा गरेको फरक फरक आन्दोलनलाई पाल्पामा मिलेर अगाडी बढाउने भएका छन् ।
उनिहरुले यहि पुस २७ र २८ गते दुवै मोर्चाले आव्हान गरेको विभिन्न क्षेत्र बन्दलाई मिलेर सफल बनाउने जानकारी दिएका छन् ।
सहमतिमा नयाँ संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी नेतृत्वमा हरेको ३० दलिय मोर्चाले २७ गते मगरात र तमुवान राज्यमा बन्दको घोषणा गरेको छ भने २८ गते वैद्य माओवादी नेतृत्वको मोर्चाले तत्काल संविधानसभा विघटन गरी राष्ट्रिय सहमतिका लागि अधिकार सम्पन्न राष्ट्रिय राजनितिक सभाको माग गर्दै अबध, मगरात र तमुवान राज्य बन्दको आव्हान गरेको छ ।
बिहिबार तानसेनमा संयुक्त पत्रकार सम्मेलन गरी दुई दिनको बन्दमा दुवै मोर्चामा आवद्ध सबै पार्टीहरुले एक्यवद्धता जनाउनुको साथै बन्दलाई सफल पार्नको लागि साथ दिने जानकारी गराएका हुन् ।
दुवै मोर्चाको आन्दोलनमा केहि भिन्नता देखिएतापनि मुख्य उद्देश्य एउटै भएकोले आन्दोलमा पनि कार्यगत एकता गरेको एकिकृत नेकपा माओवादी पाल्पाका अध्यक्ष वशन्त शर्मा कुशलले बताएका छन ।
अहिले मुलुक राजनितिक अग्रगमन र प्रतिगमको दोवाटोमा उभिएको भन्दै नेपाली जनताको वलिदानी संघर्ष र विद्रोहबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा र चुनौती सृजना भएको भन्दै यसबाट रोक्नको लागि आफुहरु आन्दोलनमा जान बाध्य भएको उहाको भनाई थियो ।
अग्रगामी राजनितिक शक्तिहरुसँगको सहमति, सहकार्य र सहयात्रालाई छोडेर मुलुकलाई फेरी द्वन्द र मुडभेडतीर धकेल्न काँग्रेस र एमाले उद्धत रहेकोले आफुहरुले कठोर आन्दोलन गर्न बाध्य भएको नेकपा–माओवादी पाल्पाका कार्यवाहक सचिव गिरवहादुर थापा विरवलले बताए ।
सदियौ देखि राज्यबाट पछाडी पारिएका आदिवासी जनजाती, महिला, दलित, मुस्लीम, पिछडा वर्गको अधिकारलाई अझै पनि कुण्ठित गर्ने प्रयत्न भइरहेको भन्दै यसलाई खवरदारी गर्न र साँच्चीकै लोकतान्त्रीक संविधान निर्माणको लागि दवाव दिन आव्हान गरिएको बन्दलाई सफल पार्नको लागि सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् ।
पत्रकार सम्मेलन आन्दोलनमा सहभागी राष्ट्रिय जनमुक्ति पार्टीका संघियसभा सदस्य केहर सिंग रानाको अध्यक्षता र नेकपा माओबादीका जिल्ला सचिब गिर बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
