देब पचभैया
काठमाडौं, २१ पुस – आदिवासी जनजाति युवा महासंघको राष्ट्रिय युवा भेलाले पहिचानमा आधारित स्वायत्त प्रदेश स्थापना गनुपर्र्ने, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषित कार्यक्रमहरुको सबै तहहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लगायत १३ बुँदे घोषणापत्र सार्बजनिक गर्दै भेला सम्पन्न भएको छ ।
नवलपरासीको कावासोतीमा सम्पन्न युवाहरुको भेलाले आदिवासी जनजातिहरुको हक अधिकारका प्राप्तिका निम्ती विद्यामान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेदहरुको अन्त्य गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । भेलाले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषित कार्यक्रमहरुलाई पूर्ण समथृन गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म आदिवासी जनजातिहरुको पहिचान, संघीयता आदिको विपक्षमा बोल्ने कृर्याकलाप गर्ने, असहयोग गर्ने व्याक्तिहरुलाई खबरदारी, सचेत र आवश्यक संस्थागत, नैतिक, बौद्धिक, भौतिक कारवाही संचालन गर्ने घोषण गरेको छ ।
सैयौंको संख्यामा युवाहरुको उपस्थितीरहेको भेलाले आदिवासी जनजाति सम्बद्ध संघ संस्था, सभासद् तथा व्याक्तिहरुलाई कसैको लोभ, लालच र संस्थालाई अहित गर्ने विचारबाट प्रभावित नभई समुदायको पहिचान, हक र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध हुन सबैमा अपिल समेत गरेको छ । युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुनको अध्यक्षतामा तीनदिनसम्म चलेको भेला १३ बुँदे आदिवासी जनजाति युवा महासंघ, नेपालको नवलपरासी घोषणा पत्र २०७१ घोषणसंगै सोमबार (आज) सम्पन्न भएको हो ।
आदिवासी जनजाति युवा महासंघ, नेपालको नवलपरासी घोषणा पत्र २०७१ आदिवासी जनजातिहरुको उत्थानको निम्ति स्थापित विभिन्न संगठनको मर्म र भावनालाई कदर गर्दै, संसारभरका आदिवासी जनजातिहरुको हक, हितको निम्ति विगत र वर्तमानमा भए गरेका विभिन्न न्याय पुर्ण आन्दोलनको सम्मान गर्दै, नेपाली आदिवासी जनजातिहरुको मुक्तिका खातिर बलिदान गरेका नेपालका प्रथम सहिद लखन थापामगर लगायतका आदिवासी जनजाति योद्धा र विभुतीहरुको गौरवपुर्ण योगदानको उच्च सम्मान गर्दै, नेपाली जनताले गरेको २०६२-०६३ सालको महान ऐतिहासिक जनआन्दोलनले नेपाली जनताहरु धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपालको युगमा प्रवेश गरेको यथार्थलाई महशुस गर्दै, संविधानसभा मार्फत मूलुकले युगन्तकारी राजनीतिक परिवर्तन र अग्रगामी रुपान्तरणलाई संस्थागत गर्न नेपालका आदिवासी जनजातिहरुले जनआन्दोलन र विगतको आदिवासी जनजाति आन्दोलन मार्फत खेलेको महत्वपूर्ण भूमिकालाई उच्च सम्मान गर्दै, विद्यामान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेदहरुको समूल अन्त्य गरी सम्पूर्ण समुदायहरु विचको सद्भाव, भातृत्व र अस्तित्वलाई विकास गर्दै, राष्ट्रिय एकताको अक्षुणतालाई सात्मसात गर्दै, संघीय सामावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संघिय समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्दै, पहिचानको मुद्धालाई आत्मसाथ गर्ने विभिन्न दर्शन, राजनीतिक आस्था र बिचार राख्ने युवा संगठन, एकल जातिय युवा संगठन, आदिवासी जनजातिका एकल संघ संस्थाहरुलाई आवश्यक समन्वय गर्दै, जातिय अस्तित्व, पहिचान र भावी सन्ततिहरुको मार्र्ग सुनिश्चित गर्न एकतावद्ध भई आत्म निर्णयको अधिकार सहितको पहिचानमा आधारित स्वायत्त प्रदेश स्थापना गर्न र गराउनका लागि आदिवासी जनजाति युवाहरुको एकिकृत आवधारणा सहितको जुझारु र शसक्त आन्दोलनको अपरिहार्यता भएकोले आदिवासी जनजाति युवा महासंघ, नेपालको नवलपरासी जिल्लाको कावसोतीमा मिति २०७१ पौष १९ देखी २१ सम्म सम्पन्न राष्ट्रिय युवा भेलाले १३ बुदे घोषणा पत्र जारी गरिएको छ ।
१. आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्न शुरु भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषित कार्यक्रमहरुको सबै तहहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने साथै, पहिचानमुखी आन्दोलन र सबैखाले संर्घषका कार्यक्रम एवं राष्ट्रिय अभियानहरुलाई सहयोग र सञ्चालन गर्दै दवावका लागि आदिवासी जनजाति युवा दस्ता निमार्ण गरी आवश्यकता अनुसार परिचालन गर्ने घोषणा गर्दछ ।
२. केन्द्रदेखि स्थानिय स्तर सम्म आदिवासी जनजातिहरुको पहिचान, संघीयता आदिको विपक्षमा बोल्ने कृर्याकलाप गर्ने, असहयोग गर्ने व्याक्तिहरुलाई खबरदारी, सचेत र आवश्यक संस्थागत, नैतिक, बौद्धिक, भौतिक कारवाही संचालन गर्ने घोषण गर्दछ ।
३ आदिवासी जनजाति सम्बद्ध संघ संस्था, सभासद तथा व्याक्तिहरुलाई कसैको लोभ, लालच र संस्थालाई अहित गर्ने विचारबाट प्रभावित नभई समुदायको पहिचान, हक र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध हुन सबैमा अपिल गर्दछ ।
४.संगठन विस्तारलाई पूर्णता दिंदै समसामयिक विषयमा सचेतना अभिबृद्धि गर्दै युवाहरुको नेतृत्व विकास गर्ने ।
५. आदिवासी जनजाति युवाहरुमा देखा परेका बेरोजगारी समस्या र विदेशीनु पर्ने वाध्यतालाई कम गर्नका लागि राज्यको तर्फबाट युवा स्वरोजगारको कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्न यस भेला जोडदार माग गर्दछ ।
६. राज्यको सबै तह र तप्कामा लैगिंक विभेद नहुने गरी आदिवासी जनजातिहरुको पूर्ण समानुपातिक र अर्थपूर्ण सहभागिताको सुनिश्चितताको माग गर्दै, आदिवासी जनजातिको नाममा राज्यबाट विनियोजित बजेटबाट सबै तहमा आदिवासी जनजाति युवाहरुलाई अनिवार्य रुपमा आवश्यक रकम छुट्याईनु पर्ने ।
७. आदिवासी जनजातिहरुको जल, जंगल, जमिन एवं अन्य प्राकृतिक स्रोत साधन माथीको अधिकारलाई सुनिश्चित गर्न यस भेला जोडदार माग गर्दछ साथै आदिवासीहरुको भूक्षेत्र र आदिवासीहरुलाई प्रत्यक्ष असर गर्ने विकास निर्माण गर्दा अनिवार्य रुपमा स्वतन्त्र, पूर्व सुसुचित मन्जुरीको व्यवस्थाको पूर्ण कार्यान्वयनको माग गर्दछ ।
८. नेपाल सरकारले आदिवासी जनजाति संघ सस्थाहरुसँग विगतमा गरेका सम्झौताहरुलाई यथाशिघ्र कार्यान्वयन गर्नु पर्ने जोडदार माग गर्दछ ।
९. नेपाल सरकार पक्ष राष्ट्र भई अनुमोदन गरेका आई.एल.ओ. अभिसन्धि १६९, यु.एन.ड्रिप. लगायतका आदिवासी जनजातिहरुको अधिकार सम्वन्धि सन्धि सम्झौताहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दछ ।
१०. आदिवासी जनजातिहरु संग प्रत्यक्ष सरोकार रहेको विश्वतापमान वृद्धि, जलवायु परिवर्तन र कार्बन उत्र्शजीकरणका बारेमा सशक्तिकरण कार्यक्रमहरुको आयोजना गर्ने घोषण गर्दछ ।
११. राष्ट्रिय युवा नीति २०६६ को संसोधन गरी आदिवासी जनजाति युवा मैत्री बनाउदै गठन हुन लागेको राष्ट्रिय युवा परिषदको सबै तहमा आदिवासी जनजाति युवा महासंघ, नेपालको संस्थागत सहभागिता रहनु पर्ने माग गर्दछ ।
१२. ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान’, संविधान सभाबाटै यथाशिघ्र जारी गर्न जोडदार माग गर्दछ ।
१३. राज्यको तर्फबाट आदिवासी जनजाति राष्ट्रिय युवा प्रतिभाको पहिचान गरी उचित सम्मान गर्न माग गर्दछ ।
