दीपा आले मगर
काठमाडौं, १७ पुस – एकल जातीय पहिचान सहितको संघीय संविधानको माग गर्दै नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
पुष १७ गते विहिबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय आन्दोलन नेपालले पूर्ण समानुपतिक समावेशी निर्वाचन प्रणाली, राज्यका सबै अंङ्ग र तहहरुमा जातीय, लैङ्गिक, समुदायको जनसंख्याका आधारमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितता लगायतका माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले पहिलो चरणको आन्दोलनका कार्यक्रम सफल रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको आन्दोलनलाई परिणाममुखी बनाउन जनसमुदायस्तरसम्म आन्दोलनका कार्यक्रम पुर्याउने बताए ।
आन्दोलन नेपालले पुस मसान्तसम्म प्रचार–प्रसार तथा जागरण अभियान, पुस १८ गते युवा विद्यार्थी भेला, १९ गते राष्ट्रिय युवा भेला गर्ने भएको छ । यसैगरी पुस २१ गतेदेखि २४ गतेसम्म अकुपाइ बानेश्वर, पुस २२ गते महिलाहरुसंग अन्तरक्रिया लगायतका कार्यक्रमहरु तय भएका डा. गुरुङले जोड दिए ।
उनले थप अन्दोलनका कार्यक्रम राज्यको प्रतिकृयामा भर पर्ने बताउदैं पत्रकार सम्मेलनमा आन्दोलनका प्रवक्ता डाक्टर गुरुङले नयाँ बन्ने संविधानमा आदिवासी जनजाति लगायत नेपालका उपेक्षित-उत्पीडित वर्ग समुदाय र क्षेत्र लिङ्गको पहिचान र अधिकार स्थापित गर्न सबैलाई सक्रिय सहभागिता र सहयोगको लागि अनुरोध समेत गरे ।
