मनोज घर्तीमगर
पोखरा, १६ पुस -तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार-ल्होसार नेपाली राष्ट्रिय पहिचान नाराका साथ कस्केली तमुहरुले बुधवार पोखरा ल्हु ल्होछार-ल्होसार मनाएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति आन्दोलनका अगुवा, पुर्व कानुन तथा न्याय राज्यमन्त्री इन्द्रबहादुर तमुले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । उनले तमुवानका भुमिपुत्रहरुले पहिचान सहितको तमुवान संविधानबाटै प्राप्तिका लागि आन्दोलन आवाश्यक रहेको बताए । ‘तमुहरुले नै तमुवानको विरोध गरे प्रायश्चित गर्दै सेतीमा हामफाल्ने अवस्था आउन सक्छ’ उनले भने,‘संविधान बनाउने क्रममा सबै तमुहरु एक जुट भएर लड्नुपर्छ, ल्होछारमा जस्तै सडकमा आन्दोलित भए शासकले घुँडा टेक्नेछन् ।’
पहिलो संविधानसभा विघटन गराउने आदिवासी जनजातिको गद्धार सभामुख सुवास नेम्बाङ भएकाले फेरी उनै सभामुख भएका बेला माघ ८ मा संविधान बन्नेमा आशंका गरे । कार्यक्रमका विशेष अतिथि भारत सिक्किम राज्यका सडक, पुल, सँस्कृति मन्त्री गर्जमान तमुले शुभकामना व्यक्त गर्दै तमु सँस्कार सँस्कृति सिक्न ल्होछार-ल्होसारको समयमा नेपाल आएको बताए । आफ्नो थलो, सँस्कृति नभुलौं, नेपालमा बन्न लागेको संविधान देश, जनजाति, धर्म, सबै क्षेत्रका हकहितका लागि बनोस् भन्ने शुभेक्षा प्रकट गरे । सिक्किममा सबै जातजातिलाई सुरक्षा, छोरीहरुलाई पैतृक सम्पत्तिमा समाज हक दिएको, हरेक सेवामा विशेष प्राथमिकता दिएको, तमु भाषालाई राज्य भाषाको मान्यता दिदै विश्वविद्यालयको तहसम्म तमु भाषा अध्ययन गराउने तयारीमा जुटेको मन्त्री तमुले बताए । ‘अधिकार सबैले पाउनु पर्छ तर चुप लागेर अधिकार पाइदैन, अधिकारका लागि तमुवानवासीहरु उठ्नुपर्छ ।’ उनले भने ।
नेपाल आदिवासी जनजाति महासंघका संस्थापक सदस्य गणेशमान तमुले नेपाली आन्दोलनको उपलब्धि संस्थागत हुन नसकेकाले २०६२-०६३ का उपलब्धि संविधानमा लेखिनु पर्ने माग गरे । ‘पहिचानसहितको तमुवान स्थापित हुनुपर्दछ तर वर्तमान शासकहरु तमुवान प्रदेश दिन नचाहेकाले सबै आन्दोलित हुनुपर्नेछ’ उनलेभ ने । यसअघि पोखराको चिप्लेढुंगाबाट शुरु भएको शुभकामना र्याली भिमसेनचोक, नयाँबजार हुदै पोखरा प्रदर्शनी केन्द्रमा पुगेर भेडा वर्ग(ल्हु ल्हो) ल्होछार-ल्होसार मुल समारोहमा परिणत भएको थियो । शुभकामना र्यालीमा आयोजित झाँकीमा प्रतियोगितामा दुधपोखरी तमु समाज प्रथम हुदै ७ हजार, ढोरफिरफिरे तमु समाज दोश्रो हुदै ५ हजार, स्याङ्जाली तमु समाज लेखनाथले तेश्रो स्थानका साथमा ३ हजार र सान्त्वना प्राप्त गरेका याङजाकोट तमु समाज, पैञ्युँखोला तमु समाज, नौलो सम्झना तमु समाज र डढुवा दुर्छा तमु समाजले जनही एक हजार पाँचसय रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगिताका लागि तमु धिं नेपालका सहसचिव जुनाकुमारी तमुको संयोजकत्वमा निर्णायक समिति गठन गरिएको थियो ।
कार्यक्रमा कास्कीका क्रियाशील १४ वटा तमु संघ संस्थाहरुको सामुहिकतामा सम्पन्न कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो ।
