मनोज घर्तीमगर
पोखरा, १६ पुस – मनाश्लु हिमालको काखमा रहेको कास्कीको उत्तरपूर्वी भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले न्यानो अतिथि सत्कारका लागि आफ्नो गाउँलाई सम्झन स्वदेशी तथा विदेशी पर्यटकमाझ आग्रह गरेका छन् ।
(तस्वीर : पर्यटकीय भाचोक गाउँको परम्परागत गुरुङ घर)
हालै स्थानीय लम्तरी युवा क्लवले गाउँमा आयोजना गरेको तीन दिने सातौ ल्हासोर महोत्सवमा आएका पाहुनाहरुलाई गाउँलेले सम्मान र सत्कार गरी खानपान र बसोवासको समेत व्यवस्था गरेका थिए । खासगरी पैसा लिएर घरघरमा पाहुना राख्ने तरिकाको पर्यटन अर्थात होमस्टे अर्थात् घरबासका लागि आफूहरु सक्षम रहेको क्लवका उपाध्यक्ष एवं महोत्सवका संयोजक पवित्रा गुरुङले बताइन् ।
गाउँमा आउने पाहुनाहरुले घरवारीमा फलेको पिनालु, तरुल, भट्ट, मकै जस्ता अर्गानिक परिकार समेत चाख्न पाउँछन् । जाडोमा दाउरा बालिएको चुलो वरपर बसेर होस् वा गर्मीमा हरियो वनको शितलसँग रमाउँदै गुरुङ संस्कृतिको स्वाद चाख्न यो गाउँ उपयुक्त रहेको छ । घरबासको कार्यक्रम यहाँ निकै पहिलाबाट नै सस्तो दरमा संचालन गरिएको हो ।
यहाँका बासिन्दाले आफूहरुलाई अतिथि सत्कार सम्वन्धि तालिमको जरुरी भएको पनि बताएका छन् । यसका लागि नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र पर्यटनसँग सम्वन्धित संस्थाले सघाउनुपर्ने भाचोक पोखरा सम्पर्क समितिका अध्यक्ष आशपुर गुरुङले बताए । कमाउन, पढ्न र सुविधाका लागि पोखरा र काठमाडौं जस्ता बजार पुगेका सो गाउँका युवाहरु यसपटक पनि गाउँ फर्किएर गाउँलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन सकिने प्रशस्त संभावनाका बारेमा चर्चा गरेका थिए ।
समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको छ । लम्तरी डाँडा, गुरुङ संग्रहालय, रानी पोखरी, मन्दिरहरु, लालीगुराँस, मनाश्लु हिमाल लगायत पनि यो गाउँका आकर्षण हुन् । ताङतिङ, सिक्लेस, याङ्जाकोट हुँदै कहिलेकाँही पर्यटक यहाँ रात विताउन पनि आउने गरेका छन् । खासगरी पर्यटकका लागि दुई रात तिन दिनको नयाँ पर्यटकीय गन्तव्य भाचोक गाउँ हुन सक्ने अध्ययन स्थानीय युवाहरुले गरेका छन् । लम्तरी डाँडा, करापु हुँदै दुधपोखरी निक्लिएर चर्चित अन्नपूर्ण चक्रीय मार्गमा निक्लने पदयात्राका लागि समेत भाचोक प्रस्थान विन्दु हुन सक्ने गाउँलेले बताए ।
भाचोक गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समेटेको क्षेत्र भित्र पर्छ । एक्यापले गाउँलेहरुलाई ताजा तरकारी फलाउने र सरसफाईको क्षेत्रमा सघाउँदै आएको छ । पोखराबाट कास्कीको कालिका, माझठाना हुँदै मादी नदीको पक्की पुल तरेर अहिले गाउँमै मोटर पुग्ने गरेको छ । गाउँबाट अहिले अर्को नयाँ मोटरबाटो खन्ने काम पनि अगाडि बढेको सम्पर्क समितिका सदस्य रुपवहादुर गुरुङले बताए ।
यसैविच गाउँमै हालै आयोजित महोत्सव अन्तर्गत भएको दौड प्रतियोगितामा राजकुमार नेपाली विजेता र आनन्द गुरुङ उपविजेता भएका छन् । छेलो हान्ने प्रतियोगितामा रमेश सुवेदी विजेता र मिलन क्षत्री उपविजेता भएका छन् । रसी तान्ने प्रतियोगितामा भाचोक ए विजेता र भाचोक बी उपविजेता भएको छ । सियोधागो प्रतियोगितामा भने किरण गुरुङ र आसमाया गुरुङको जोडी विजेता भएको छ । सुवास परियार र सिता परियारको जोडी उपविजेता भएको छ ।
कुर्ची दौडमा लक्ष्मी गुरुङ विजेता र जमुना परियार उपविजेता भएका छन् । बोरा दौड प्रतियोगितामा महादेव गुरुङ विजेता र सुरज गुरुङ उपविजेता भएको आयोजक क्लवले जनाएको छ ।
तस्वीर : लम्तरी युवा क्लव
