गोविन्द घर्ती
देवदह पुस १४ । रुपन्देहीको देवदहमा आगामी फाल्गुन १ गते देखि प्रथम राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्वस हुने भएको छ । स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिककरण तथा ब्यापार बिबिधिकरण भन्ने मुल नारा सहित गर्न लागिएको महोत्सव फाल्गुन १० गते सम्म संचालन हुने जनाएको छ । उद्योग ब्यापार संगठन देवदह शाखा तथा उद्योग ब्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा संचालन हुने महोत्सवले स्थानिय क्षेत्रको पहिचान, प्रबद्र्धन तथा कृषि र पर्यटन क्षेत्रको विकाश गर्ने देवदहको खैरेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
महोत्सवका लागि देवदह नगरपालिका र जिल्ला विकास समिति रुपन्देही सह–आयोजकको रुपमा रहेका छन् । रुपन्देहीको देवदह क्षेत्र कृषिका लागि उपयुक्त क्षेत्र भएको र यसको पहिचानलाई राष्ट्रिय रुपमा परिचित गराउनका लागि महोत्सव फलदायी हुने उद्योग ब्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राईले बताए । देवदह खैरेनीको पानवारी स्थित खेल मैदानमा गर्न लागिएको महोत्सवमा करिव ३ करोड बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको र ४५ लाख रुपैंया खर्च लाग्ने आयोजकले जनाएको छ । महोत्सवमा कृषि, उद्योग तथा बाणिज्य, संघसंस्था तथा बाल उद्यान लगायत १ सय ५० वटा स्टलको ब्यवस्था मिलाईने र देवदहलाई परिचय दिने पाकरी बृक्ष, भवानीपुर, बैरीमाई, कन्यामाई, खयरडाँडा, देवदह लगाएत ऐतिहासिक क्षेत्रको अवलोकन गर्ने ब्यवस्था मिलाईएको छ ।
करिव ६० हजार दर्शक भित्राउने लक्ष्य सहित गर्न लागिएको महोत्सव अवलोकन गर्नका लागि टिकटदर ४० रुपैंया कायम गरिएको छ । त्यस्तै बिद्यार्थीहरुलाई ३० रुपैंया र संस्थागत रुपमा आएमा २० रुपैंयामा टिकट उपलब्ध गराईने आयोजकले जनाएको छ ।
