मनोज घर्तीमगर
आफ्नो गाउँठाउको प्रचार गर्ने भन्दै म्यूजिक भिडियो बनाउने लहर चलेको छ । यो लहरले पश्चिम क्षेत्रका धेरै गाउँका म्यूजिक भिडियो बनिसकेका छन् । यहि मौका पारेर पोखराको साँस्कृतिक समूह तरेली साँस्कृतिक परिवारले पहिलो पटक ‘गाँउ चिनारी सामुहिक नृत्य प्रतियोगिता’ आयोजना गरेको छ । पोखरा सभागृहमा शनिवार भएको प्रतियोगितामा लमजुङ ‘चरा गाउँ’ को समूहले १४ समूहलाई पाखा लगायो ।
प्रथम भएको ‘चरा गाँउ’ समूहले ५० हजार, शिल्ड र प्रमाणपत्र पुस्कार पायो । याङ्जाकोट गाँउ गीतको दोस्रो भयो भने ताङतिङ गाँउको गीतमा गरिएको नृत्य समुह तेस्रो भयो । उनीहरुले क्रमशः २५ हजार, १५ हजार, शिल्ड र प्रमाणपत्र पुरस्कार पाए । प्रतियोगितामा भ्युअर च्वाईसको उपाधि जितेको भुकदेउराली सूमहले ५ हजार र उत्कृष्ट नृत्य निर्देशक पाचोक गाँउको गीतले ३ हजार रुपैया पुस्कार पाए । भेषभुषामा मार्फा गीत समुह उत्कृष्ट भयो ।
लोक सँस्कृति जगेर्ना, गाँउ चिनारी गीतको प्रचारप्रसार, गीतहरुको गुणस्तर अभिवृद्धि, गरि ग्रामीण पर्यटन प्रवद्र्धन थर्न प्रतियोगिता गरेको तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङले बताए । प्रतियोगितामा ढोर फिरफिरे, मार्फा, रुपाकोट मोहोरिया, ताङतिङ, पसगाँउ, सावेत, याङजाकोट, मिर्लुङकोट, करापु, सिक्लेस, लान्द्रुक, कोल्मा, चरागाँउ, भुजुङ, भुकदेउराली, गिलुङ गाँउको टिम सहभागीता रहेको थियो । प्रतियोगितामा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष सँस्कृतिकर्मी मेनकाजी गुरुङ, गीतकार एवं निर्देशक कृष्णकुमार गुरुङ र नायिका तथा कोरियोग्राफर जसु गुरुङ निर्णाय थिए ।
