प्रशासनले सकारात्मक प्रतिक्रिया नदिए सशक्त आन्दोलनमा जाने
सनु थापा मगर
बुटवल , १३ पुस राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल भारत सिमा तथा नेपाल प्रवेश द्वार भैरहवा सुनौलीको बेलहीया नाकामा राखेको स्वागत बोर्ड प्रशासनले बिना जानकारी फालिदिएको छ
। “लुम्बिनी प्रदेशमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ ।” भन्ने बोर्ड पौष ९ गते बुधबार एक कार्यक्रमका बिच राखिएको थियो । राजमुपा लुम्बिनी राज्य परिषद र जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको संयुक्त पहलमा स्वागत बोर्ड राखिएको थियो ।
बोर्ड राखेको दिन बुधबार साँझ ६ बजे अध्यारो हुन लागेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पार्टीलाई कुनै जानकारी नै नदिई प्रहरी लगाएर बोर्ड उखेलेर फालिदिएको राजमु पार्टी जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताए ।
उनले यो कार्य पार्टीलाई नै अपमान गर्ने गरि र सिङ्गो लुम्विनी प्रदेश चाहाने जनताहरुको भावना विपरित रहेको बताए । प्रशासनको उक्त अनैतिक व्यबहार र कार्यप्रति घोर भत्सर्ना गर्दै राजमु पार्टी जिल्ला समिति रुपन्देहीले ०६२-०६३ को जनआन्दोलन को भावना तथा अन्तरीम संविधान २०६३ को मर्म विपरीत भएको ठहर गर्दै वक्तव्य जारी गरेको छ । पार्टी जिल्ला सचिव भैरब थापाद्वारा हस्ताक्षरित विगप्तिमा लोकतन्त्र र गणतन्त्रको उपहास गर्दै निरकुंश व्यवस्थाको चरित्र देखाएको जनाइएको छ ।
उता प्रशासनले आफुहरुलाई कुनै जानकारी नै नगराई स्वागत बोर्ड राखेको र आदेश अनुसार उखाल्नु परेको बताएको छ भने राजमु अध्यक्ष गुरुङ्गले १३ गते आइतबार ४८ घण्टे अल्टिमेटमसहित प्रशासनमा डेलिगेसन जाने र ४८ घण्टाभित्र प्रशासनद्वारा बोर्डलाई यथावत नराखिए र सकारात्मक प्रतिक्रिया नआए सशक्त आन्दोलनमा जाने बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदले लुम्विनी राज्यको माग राख्दै प्रस्तावित लुम्विनी राज्य प्रदेशको विभिन्न चार नाकामा स्वागत बोर्ड राखेको छ । राष्ट्रिय जनमुक्ति पाटी लुम्विनी राज्य परिषद समितिले लुम्विनी प्रदेशको माग राख्दै चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।
