निरज पिठाकोटे मगर
वीरगञ्ज, ८ पुष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको बैठक आज सम्पन्न भएको छ । परिषदका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भिस्वा गुम्बामा भएको बैठकले आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको संगठन सुदृढीकरणका लागि साधारण सभा तथा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
साधारण सभाका लागि जिल्लामा रहेको सबै आदिवासी जनजातिका जातिय संगठनबाट एक महिला सहित कम्तीमा पाँच जनाको नामावली माघ पहिलो साता सम्ममा पठाउन माग गर्ने निर्णय आजको बैठकले गरेको छ । त्यस्तै मंसिर १७ र १८ गते रुपन्देहीको बुटवलमा भएको जिल्ला समन्वय परिषदको राष्ट्रिय भेलाले जारी गरेको १८ बुँदे घोषणा पत्रलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पनि निर्णय गरिएको समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले जानकारी दिए । बैठकमा संस्थापक सदस्य चक्र बहादुर शाक्य, सदस्य बालेश्वर गौरो, रामाशिष प्रसाद धानुक, सोम बहादुर लामा, राम बहादुर लामा, पदम बहादुर तामाङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे मगर, नेकपा एमालेका जिल्ला सदस्य सुदीप लामा लगायतको पनि उपस्थिति रहेको थियो ।
