गोबिन्द घर्ती
मंसीर १८ । राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी राज्य परिषदको विस्तारित बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष नगेन्द्र रौतार थारुको अध्यक्षता एवं पार्टीका महासचिव केशव सूयृवंशीको प्रमुख आतिथ्यतामा बसेको विस्तारित बैठकले लुम्बिनी राज्य परिषदको आयोजनामा मंसिर १२ गते बुटवलमा आयोजना गरेको ‘जनप्रदर्शन तथा खबरदारी सभाको समिक्षा गर्नुका साथै माघ ८ गते सहमतीय संविधान जारी गराउन र लुम्बिनी प्रदेशको सुनिश्चित्ताका लागि दवाबमूलक खबरदारी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले आगामी पौष २० गते सम्मका लागि लुम्बिनी प्रदेश स्तरमा चलाईने खबरदारी अभियान अन्तर्गत सर्वपक्षीय अन्तर संवाद, प्रशिक्षक-प्रशिक्षण, गाउँ, नगर तथा जिल्ला स्तरीय जनप्रदर्शन, भ्रष्टाचार सम्बन्धी जनसर्वेक्षण गर्ने निर्णय गरेको छ ।
बैठकले बसन्त सिंजालीलाई श्रव्यदृश्य संयोजक र शंकर गाहालाई स्वयम्सेवक परिचालन संयोजकको जिम्मेवारी दिएको सचिव तिलबहादुर झेडीले बताउनु भयो । बैठकमा पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख टोप अस्लामी, स्थायी समिति सदस्य एवं राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, संघीय परिषद सदस्य एवं लुम्बिनी राज्य परिषदका ईञ्चार्ज अशोक पुन, संघीय परिषद सदस्य इञ्चार्ज दलबहादुर वीरकट्टा, संघीय परिषद् सदस्य हाजी डा.मोहम्मद हसन, होमाया गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।
