देब पचभैया
पाल्पा, मंसिर १७ गते – एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुन अनन्तले पहिचान सहितको संघीयताले आधुनिक नेपाल निर्माण गर्न सहयोग पुग्ने बताएका छन् ।
उनले आदिवासी जनजाति समुदायले मागेको पहिचानको मुद्दा कुनै जाति विशेषको बिरुद्धमा नभई सबै जातिको समान हक र अधिकार स्थापनाका लागि भएको बताए ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले तानसेनमा बुधबार गरेको मगरात भेलामा बोल्दै नेता पुनले विगतको राज्यसत्ताले स्थापना गरेको विभिन्न समस्या हल गर्न आदिवासी जनजाति समुदायको आन्दोलनले सहयोग पुग्ने विस्वास गर्नुभयो । एकल जातीय पहिचानसहितको संघीयता, समानुपाति प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायतका विषय कुनै पार्टीको माग नभएर राष्ट्रकै एजेण्डा भएको नेता पुनले उल्लेख गर्नुभयो ।
सबै जातजाति भाषाभाषी, वर्ग, लिंग, समुदायका मानिसले अधिकार पाए मात्र देश आधुनिक बन्न सक्छ उनले भने त्यसैले यो मुद्दा सबै जाति र राष्ट्रको हो । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले विश्वको महाशक्तिशाली राष्ट्र अमेरिकामा समेतच १४ वटा राज्य जातीय पहिचानका आधारमा बनेको उदाहरण दिदैँ बहिस्करणमा परेका समुदायलाई पहिचान दिदा सबैलाई फाइदा हुने र आधुनिक नेपाल निर्माण गर्न सहयोग पुग्ने दावी गरे ।
पहिचानका आधार, भाषा, जनसंख्या, ऐतिहासिक निरन्तरता, समुदायका विषयमा कांग्रेस, एमाले, माओवादी सहमत भईसकेको बताउँदै उनले यसबाट दलहरु पछि हट्छन् की भन्ने आशंकाले आदिवासी जनजातिले आन्दोलनको सुरुवात गरेको जानकारी उनले दिए । आदिवासी जनजातिको मुद्दा अब केबल उनीहरुको मात्र रहेन उनले भने यो सबैको मुद्दा, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा भईसकेको उनले जिकिर गरे ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले बर्तमान संविधानसभाले आदिवासी उत्पीडित जातिको पक्षमा संविधान नबनाउने खतरा देखिएको भन्दै आन्दोलनको आवश्यकता औल्याए । उनले विगतमा भएका जनयुद्ध, जनआन्दोलन, आदिवासी आन्दोलन, मधेसी आन्दोलनका बेलामा भएको सहमति संविधानमा उल्लेख गर्न माग गरे। उनले वर्तमान राज्य एकल जातीय, एकम भाषिक, एकल समुदायमा आधारित रहेकाले सबैको राज्य बनाउन आन्दोलन बिना सम्झौता हुने दावी गरे ।
यस्तै मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सहसंयोजक वसन्त घर्तीमगरले आन्दोलन सफल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । यस्तै लोकतान्त्रिक मगर संघका केन्द्रीय सदस्य भोगबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका सल्लाहकार मानध्वज श्रेष्ठ, नेवा राष्ट्रिय मुक्ति मोर्चा पाल्पाका अध्यक्ष प्रेमसागर शाहीले पहिचान सहितको संघीयताले मात्र देशको विकासमा सहयोग पर्याउने दावी गरे ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य टोपबहादुर बराल, भीमबहादुर श्रीसमगरले अब सम्झौताहिन आन्दोलनको विकल्प नरहेको स्पष्ट पारे । भेलामा नेपाल मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाले स्वागत, मगर संघका केन्द्रीय महासचिव नविन रोकामगरले संचालन र आदिवासी जनजाति आन्दोलनका अगुवा धनकेशर सुर्यबंशीले अध्यक्षता गरेका थिए ।
